उम्मेदवार सिफारिसकै लागि एमाले कालीकोटको बैठक काठमाडौंको एक होटलमा ३ दिनसम्म चलेको थियो।
कालीकोट — फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि एमाले कालीकोटले केन्द्रीय सदस्य नगिन्द्र शाहीसहित तीन जनालाई सिफारिस गरेको छ।
पार्टीका केन्द्रीय सदस्य, प्रदेश सदस्य तथा जिल्ला कमिटीका अध्यक्ष, उपसचिवसहितका पदाधिकारीको काठमाडौंमा बसेको बैठकले युवा नेता नगिन्द्रसहित एमाले प्रदेश कमिटी सदस्य सीता शाही र युवा संघका केन्द्रीय नेता वकिल बमलाई सिफारिस गरेको हो।
क्षेत्र, भेग र युवा तथा महिलाको सन्तुलन मिलाएर ३ जना उम्मेदवारकाे नाम सिफारिस गरिएको एमाले कालीकोटका उपसचिव तथा प्रचार विभाग प्रमुख पवित्रकुमार शाहीले बताए। ‘आकांक्षी धेरै भएकोले छलफल लम्बिएर ३ दिन लाग्यो,’ उनले भने, ‘अन्तिममा सबैको सहमतिले तीनै युवालाई सिफारिस गर्ने निर्णय भयो ।’
एमाले जिल्ला अध्यक्ष तुलाराज मल्लले सबैको सहमतिमा ३ जनाको नाम सर्वसम्मत पठाइएको बताए। उम्मेदवार सिफारिसकै लागि एमाले कालीकोटको बैठक काठमाडौंको एक होटलमा ३ दिनसम्म चलेको थियो।
