कालीकोटको एमाले उम्मेदवार सिफारिस गर्न काठमाडौंमा बैठक

उम्मेदवार सिफारिसका लागि पार्टीका केन्द्रीय सदस्य, प्रदेश सदस्य तथा जिल्ला कमिटीका केही पदाधिकारीहरू तीन दिनदेखि काठमाडौंको एक होटलमा छलफल गरिरहेका छन्।

पुस २१, २०८२

तुलाराम पाण्डे

Meeting in Kathmandu to recommend UML candidate for Kalikot

What you should know

कालीकोट — फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि एमाले कालीकोटलाई उम्मेदवार सिफारिस गर्न सकस परेको छ।

एकल सिफारिस हुने महत्त्वाकांक्षा र आकांक्षीहरुबीच सहमति नजुट्दा उम्मेदवार सिफारिसमा ढिलाइ भएको हो।

पार्टीका केन्द्रीय सदस्य, केही प्रदेश सदस्य तथा जिल्ला कमिटीका केही पदाधिकारीहरू तीन दिनदेखि काठमाडौंको एक होटलमा छलफल गरिरहेका छन्। बैठक सोमबार पनि जारी छ। आकांक्षी धेरै भएकोले छलफलमा समय लागेको एमाले कालीकोटका सचिव पुष्पराज आचार्यले बताए।  

उपयुक्त उम्मेदवार छनोट गर्न व्यापक छलफल गर्नुपर्ने भएकाले केही ढिलाइ भएको उनले बताए। ‘अन्य पार्टीका उम्मेदवार सिफारिस भइसकेकाले पार्टीलाई विजयी बनाउन आएका विभिन्न नाम मध्ये उपयुक्त छान्न समय लागेको हो,’ उनले भने। 

पार्टीका केन्द्रीय सदस्य तथा पूर्वजिल्ला इन्चार्ज नगिन्द्र शाहीले आफूलाई मात्र एकल सिफारिस गर्न गरेको अनुरोध अन्य आकांक्षीले नमानेकाले ढिलाइ भएको बैठकमा सहभागी एक नेताले सुनाए। ‘नगिन्द्रजीले आफ्नो एकल सिफारिस पठाउने चाहाना राख्दा अरुले नमानेर बैठक लम्बियो,’ ती नेताले भने।

पार्टीले २४ गतेसम्म उम्मेदवार सिफारिस गर्ने समय दिएकोले हतार नभएको एमाले कालीकोटका अध्यक्ष तुलाराज मल्लले बताए । उनले उम्मेदवार सिफारिसमा कुनै विवाद नभएको दाबी गरे। 

काठमाडौ‌मा एमाले कालीकोटको बैठक बसेर उम्मेदवार छनोटको छलफल चलाउँदा केन्द्रीय सदस्य नगिन्द्र शाही, केन्द्रीय सदस्य मीनबहादुर शाही र अर्की केन्द्रीय सदस्य इन्दिरा सञ्ज्याल तीनै जनाले दाबी गरेका छन् भने अन्य नेताहरू काशीचन्द्र बराल, वकिल बम, रमेश शाही, तपेन्द्र शाहीलगायत पनि आकांक्षी छन्। 

कालीकोटमै रहेका पूर्व प्रदेश सांसद कुर्मराज शाहीले आफू पनि इच्छुक रहेको बताए । ‘जिल्लामा छलफल गर्नुपर्नेमा काठमाडौमै बैठक बसेको भन्ने सुनियो । मेरो पनि दाबी छ,’ उनले भने ।

०७९ को निर्वाचनमा एमाले उम्मेदवार नगिन्द्र शाही माओवादी केन्द्र, कांग्रेस र एकीकृत समाजवादी गठबन्धनका महेन्द्रबहादुर शाहीसँग ७ हजार ९ मतले पराजित भएका थिए। 

कालीकोटबाट चुनाव लड्न नेपाली कम्युनिस्ट पार्टीबाट संयोजक पुष्पकमल दाहाल, कांग्रेसबाट युवा नेता भूपेन्द्रजंग शाही र राष्ट्रिय स्वतन्त्र पाटीबाट प्रकाश न्यौपाने सिफारिस भइसकेका छन् । 

तुलाराम पाण्डे कान्तिपुरका कालिकोट संवाददाता हुन् ।

Link copied successfully