जिप दुर्घटनामा सेनाका अमलदारको मृत्यु

छायानाथ नगरपालिका-७ मा पिना प्रहरी चौकीदेखि अगाडि आलादुना खोलाको मोडमा जिप दुर्घटनामा परेको थियो ।

पुस २१, २०८२

डीबी बुढा

Army officer dies in jeep accident

जुम्ला — मुगुमा सेनाको बोलेरो जिप दुर्घटनामा एक अमलदारको मृत्यु भएको छ । हनुमान ध्वज गुल्म हुटु रारादेखि भुलभुलेसम्म सैनिक पुर्‍याउन गएको जिप फर्किने क्रममा दुर्घटनामा परेको हो ।

मुगुका प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीका अनुसार मृत्यु हुनेमा हनुमान ध्वज गुल्मका अमलदार चालक हरिसिंह ऐडी छन् । बैतडीको पाटन-४ बगाडी स्थायी ठेगाना भएका चालक ऐडीलाई  मुगु अस्पतालले बिहान १ बजेर ३० मिनेटमा मृत घोषणा गरेको थियो । 

न १ झ १०३९ नम्बरको बोलेरो रारा छायानाथ नगरपालिका-७ मा रहेको पिना प्रहरी चौकीदेखि अगाडि आलादुना खोलाको मोडमा दुर्घटनामा परेको थियो । आइतबार बेलुकी ७ बजेर ७ मिनेटमा दुर्घटनामा परेको खबर पाउनेबित्तिकै नेपाली सेना,सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली घटनास्थलमा पुगेर उद्धार गरेको थियो । बोलेरो सडकदेखि २ सय मिटर तल खसेको थियो । घाइते चालकलाई राति १० बजे नै मुगु अस्पतालमा ल्याइपुर्‍याइएको भए पनि बचाउन नसकिएको प्रमुख जिल्ला अधिकारी खत्रीले बताए  । 

दुर्घटनाको कारण पत्ता लागेको छैन । तर त्यो मोडमा धेरै दुर्घटना हुने गरेको स्थानीयले बताएका छन् । मृतक ऐडीको शव पोस्टमार्टमको तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी खत्रीले जानकारी दिए । 

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully