जिल्ला सचिवालय समिति जुम्लाको आइतबारको बैठकले एमाले जुम्लाको अध्यक्षसमेत रहेका महतको नाम एकल सिफारिस गर्ने निर्णय गरेको हो ।
जुम्ला — एमाले जुम्लाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि शान्तिलाल महतको एकल नाम सिफारिस गरेको छ ।
जिल्ला सचिवालय समिति जुम्लाको आइतबारको बैठकले एमाले जुम्लाको अध्यक्षसमेत रहेका महतको नाम एकल सिफारिस गर्ने निर्णय गरेको हो । महतलाई सर्वसम्मत उम्मेदवारका रुपमा नाम सिफारिस गरेको एमाले जुम्लाका सचिव मानबहादुर रोकायाले जानकारी दिए ।
बैठकमा बोल्ने अधिकांशले पार्टीलाई एकताबद्ध बनाउन र जिल्लामा एकताको सन्देश फैलाउन पनि एकल सिफारिस गर्नुपर्ने धारणा राखेका थिए । पार्टी जिल्ला सचिवालय समिति बैठकले एकल सिफारिस गरेर थप जिम्मेवारी दिएकोमा खुसी लागेको प्रतिक्रिया अध्यक्ष महतले दिएका छन् । उनले सबैको सहयोग र समर्थनले एमालेको जीतलाई सुनिश्चित बनाउनुपर्ने उनको भनाइ छ ।
यसअघि आधा दर्जनभन्दा बढी आकांक्षी भएको भनिए पनि सिफारीस एकल हुनुले सुखद् सन्देश फैलाउन सकेको एमाले जुम्लाको निष्कर्ष छ । एकल उम्मेदवार सिफारिस भएका महत आठौं र नवौं जिल्ला अधिवेशनबाट जिल्ला अध्यक्षमा निर्वाचित भएका हुन् ।
