कालीकोट सदरमुकाम मान्म बजारबाट केही पर चौथा भीरबाट उकालो जाने पैदल हिँड्ने क्रममा विद्यार्थीहरु लड्ने जोखिम भएकाले रेलिङसहितको पैदलमार्ग निर्माण थालिएको हो।
What you should know
कालीकोट — खाडाचक्र–१ चौथा भीरदेखि वडा ३ ताडीस्थित तिला कर्णाली बहुमुखी क्याम्पस जोड्न १ किलाेमिटर जेसिस पैदलमार्ग निर्माण गरिएको छ।
चौथादेखि ताडी क्याम्पससम्म साढे ३ किलोमिटर पैदलमार्ग बनाउनु पर्नेमा बजेट अभावले यो वर्ष १ किलोमिटर मात्रै निर्माण भएको हाे।
गत मंसिर ८ गते सिलान्यास गरेर थालिएको पैदलमार्गर् फागुनमा सक्ने सम्झौता भए पनि पुसभित्रै काम सकिएको निर्माण समितिका अध्यक्ष खगेन्द्र पाण्डेले बताए। स्टिमेट अनुसार पैदलमार्ग चौडा गर्ने, ढुंगा बिछ्याएर ढलान गर्ने काम सकिए पनि बजेट अभावले पूरै पदमार्ग बनाउन नसकिएको उनले बताए।
साकला ढुंगाबाट ठाडो माथि तिला कर्णाली क्याम्पस र तेस्रो ताडी टावरसम्म जोड्न खाडाचक्र नगरपालिका–३ ले अर्को वर्षका लागि योजना माग गरेको वडाध्यक्ष दधिराम पाण्डेले बताए ।
तिला कर्णाली बहुमुखी क्याम्पस हुँदै पर्यटकीय स्थल पूजामालिका जोड्ने पैदलमार्गलाई जेसिस पर्यटन पदमार्ग नामाकरण गरेर काम थालिएको हो। उक्त मार्गको सिलान्यास गएको मंसिर ८ गते कांग्रेस नेता भुपेन्द्रजंग शाहीले गरेका थिए।
कालीकोट सदरमुकाम मान्म बजारबाट केही पर चौथा भीरबाट उकालो जाने पैदल हिँड्ने क्रममा विद्यार्थीहरु लड्ने जोखिम भएकाले रेलिङसहितको पैदलमार्ग निर्माण थालिएको थियो । कर्णाली प्रदेश उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयमार्फत विनियोजित बजेट डिभिजन वन कार्यालय कालीकोट मार्फत खर्च भएको हो ।
कालीकोटको सदरमुकाम मान्मबाट भीरको बाटो हिड्नु पर्ने भएकाले रेलिङसहित ढलान भएको पदमार्ग निर्माण हुँदा खुसी लागेको तिला कर्णाली बहुमुखी क्याम्पस प्रमुख रुद्रप्रसाद सापकोटाले बताए । ‘क्याम्पस संचालन भएको २० वर्षपछि बल्ल सुरक्षित बाटोमा हिँड्न पाइने भयो,’ उनले भने, ‘सुरक्षित बाटो बनेपछि क्याम्पस आउजाउ गर्न सजिलो भयो ।’ उनले क्याम्पसबाट फर्किने क्रममा यसअघि लडेर २ जना विद्यार्थीको खुट्टा भाँचिएको र ९/१० विद्यार्थीको खुट्टा मर्किएको सुनाए ।
स्नातक तहदेखि स्नाकोत्तरसम्म शिक्षा र व्यवस्थापन संकाय पढाइ हुने क्याम्पसमा ५ सय बढी विद्यार्थी छन्। घुमाउरो सडकको बाटो हिँडेर आउजाउ गर्दा बढी समय लाग्ने भएकोले साढे ३ किलोमिटर छोटो पैदलमार्ग निर्माण गरिएको क्याम्पसका स्ववियू सभापति हिक्मत सिंहले बताए ।
मान्म बजारपारि चौथादेखि क्याम्पससम्म ३ दशमलव ५ किलोमिटर पैदलमार्ग मध्ये यस वर्ष १ किलोमिटरलाई १४ लाख ५५ हजार डिभिजन वन कार्यालयले बेहोरेको छ । क्याम्पस जान बड्डी कोटेदाड (ओडार) बाट माथि १ किलोमिटर बाटो बन्न बाँकी छ भने साकला ढुंगा हुँदै ताडी टावरसम्मको १ किलोमिटर बाटो बनाउन बाँकी छ ।
निर्माण समितिसँग सम्झौता अनुसारको काम सकिएकाले बाँकी कामका लागि अर्को वर्ष क्रमागत योजनामा राखिने डिभिजन वन कार्यालय प्रमुख धर्मराज उपाध्यायले बताए । उनकाअनुसार क्याम्पस जाने पैदलमार्गमा ढुंगा सोलिङ गरेर ढलान, मेसिनरी वाल र भीरतिरको एक सय मिटर फलामे रेलिङ हाल्ने काम अन्तिम चरणमा छ ।
