ठूूला दलहरुकाे समानुपातिक बन्दसूचीमा डोल्पाबाट सिफारिस भएका कुनै पनि दलका उम्मेद्वार अटाउन नसकेपछि जिल्लाका नेता-कार्यकर्ता असन्तुष्ट देखिएका छन् ।
What you should know
डोल्पा — हिमाली जिल्ला डोल्पालाई राजनीतिक दलहरुले उपेक्षा गरेको भन्दै पुराना राजनीतिक दलका नेता-कार्यकर्ताले असन्तुष्टि जनाएका छन्।
देशका धेरैजसो जिल्लाका उम्मेद्वारहरु समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतको बन्दसूचीमा परे पनि डोल्पाबाट सिफारिस भएका कुनै पनि दलका उम्मेद्वार अटाउन सकेनन्।
नेपाली कम्युनिष्ट पार्टीले समानुपातिकका लागि डोल्पाबाट ६ जना सिफारिस गरेको थियो ।
पिछडिएको क्षेत्रबाट हंसबहादुर शाही, महिलाबाट काली चलाउने र भिमा केसी बञ्जारा, काली बुढा, दलितबाट नैनसिंह विक र जनजातिबाट ग्याल्पो थापा भोटेको नाम सिफारिस गरेको थियो। तर, उनीहरु कुनै पनि बन्दसूचीमा समेटिएनन् ।
जिल्ला पार्टीबाट सिफारिस गरिएका उम्मेद्वार बन्दसूचीमा नपरेपछि नेतृत्वमा असुन्तुष्टि पैदा भएको नेकपाका जिल्ला संयोजक धर्मजीत बोहोराले बताए। ‘सिफारिस गरिएका सबै उम्मेद्वार बन्दसूचीमा परुन भन्ने होइन्। कम्तीमा एक जना मात्र भए पनि सूचीमा परेको भए राम्रो हुने थियो,' उनले भने, 'तत्कालीन जनयुद्धको प्रमुख प्रभाव क्षेत्रभित्र पर्ने डोल्पाबाट एक जना पनि बन्दसूचीमा नपर्दा नेतृत्व सँगै कार्यकता पनि दुखि भएका छन् ।' यस्ता कुराहरुमा केन्द्रीय कमिटीले पनि ध्यान दिनुपर्ने उनले बताए।
त्यसैगरी एमाले डोल्पाले पनि जिल्लाबाट सिफारिस गरेका उम्मेद्ववार बन्दसूचीमा पर्न सकेनन्। एमालेले तीन जनाको नाम सिफारिस गरिएकोमा कसैकाे नाम नपरेको हो।
एमाले डोल्पाले महिलाबाट चन्द्र कुमारी बुढा, दलितबाट प्रेमलाल विक, खसआर्यबाट टोपबहादुर चन्दको नाम सिफारिस गरेको जिल्ला अध्यक्ष लंकबहादुर रोकायले बताए। अन्य जिल्लाका सिनियर नेताहरु छनोट भएर पनि डोल्पाबाट नाम नपरेको हुनसक्ने रोकायले बताए। प्रतिनिधि सभाको प्रत्यक्ष तर्फका लागि उम्मेद्वार सिफारिस गर्न यही महिनाको २१ गते जिल्ला कमिटिको बैठक बोलाइएको उनले जानकारी दिए ।
यता कांग्रेस डोल्पाले पनि तीन जना उम्मेद्वारको नाम सिफारिस गरेको थियो । खसआर्यबाट पार्टीका पूर्वजिल्ला सभापति तथा डोल्पा कांग्रेसका संस्थापक नेता टंकप्रसाद उपाध्याय, महिलाबाट जयकुमारी शाही र रमादेवी न्यौपानेको नाम सिफारिस गरिएको थियो ।
तर, निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा जिल्लाले सिफारिस गरेका उम्मेद्वारको नाम नै छनोट नगरी गोमा केसीको नाम परेपछि जिल्ला नेता कार्यकर्ता अचम्ममा परेका छन् ।
जिल्ला कार्यसमितिले सिफारिस गरेको नाम बेगर जिल्लाको बासिन्दा समेत नभएकी गोमा केसीको नाम बन्दसूचीमा परेपछि डोल्पा कांग्रेसमा असुन्तुष्टि पैदा भएको छ।
‘जिल्ला पार्टीले समानुपातिका उम्मेद्वारको रुपमा तीन जनाको नाम सिफारिस गरेको थियो । नाम आउँदा जिल्लामै नभएको मान्छेको आयो,’ कांग्रेसका युवा नेता जयस उपाध्यायले भने, ‘आयोगको बन्दसूचीमा परेका समानुपातिका उम्मेद्वार केसी डोल्पाको हुनुहुन्न । उहाँको घर ठेगाना कहाँ हो त्यो पनि थाहा छैन् ।’
जिल्लाबाट नाम सिफारिस गरेकालाई कांग्रेस, एमाले र नेपाली कम्युनिष्ट पार्टीले एक जनाको नाम पनि बन्दसूचीमा नराखेपछि डोल्पालाई प्रमुख दलहरुले नै उपेक्षामा राखेको जिल्लाका नेता-कार्यकर्ताहरु बताउँछन्।
