जिल्लामै नभएको उम्मेद्वार बन्दसूचीमा परेपछि डोल्पा कांग्रेसमा असुन्तुष्टि

जिल्ला कार्यसमितिले सिफारिस गरेको नाम बेगर जिल्लाको बासिन्दा समेत नभएकी गोमा केसीको नाम बन्दसूचीमा परेपछि डोल्पा कांग्रेसमा असुन्तुष्टि पैदा भएको हाे।

पुस १८, २०८२

रामचन्द्र न्यौपाने

Dissatisfaction in Dolpa Congress after candidate not from the district is included in the closed list

डोल्पा — कांग्रेसको समानुपातिक बन्दसूचीमा जिल्लामै नभएका उम्मेद्वारकाे नाम समेटिएपछि डोल्पा कांग्रेसमा असन्तुष्टि देखिएको छ।

हिमाली जिल्ला डोल्पाबाट कांग्रेसले समानुपातिक तर्फ तीन जना उम्मेद्वारको नाम सिफारिस गरेको थियो।

खसआर्यबाट पार्टीका पूर्वजिल्ला सभापति तथा डोल्पा कांग्रेसका संस्थापक नेता टंकप्रसाद उपाध्याय, महिलाबाट जयकुमारी शाही र रमादेवी न्यौपानेको नाम सिफारिस गरिएको थियो।

तर, कांग्रेसको केन्द्रीय समितिले निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा जिल्लाले सिफारिस गरेका उम्मेद्वारको नाम छाडेर अर्कैको नाम परेपछि जिल्ला नेता कार्यकर्ता अचम्ममा परेका छन् ।

जिल्ला कार्यसमितिले सिफारिस गरेको नाम बेगर जिल्लाको बासिन्दा समेत नभएकी गोमा केसीको नाम बन्दसूचीमा परेपछि डोल्पा कांग्रेसमा असुन्तुष्टि पैदा भएको हाे।

‘जिल्ला पार्टीले समानुपातिका उम्मेद्वारको रुपमा तीन जनाको नाम सिफारिस गरेको थियो । तर, नाम आउँदा जिल्लामै नभएको मान्छेको नाम आयो,’ कांग्रेसका युवा नेता जयस उपाध्यायले भने, ‘आयोगको बन्दसूचीमा परेका केसी डोल्पाको हुनुहुन्न। उहाँको घर ठेगाना कहाँ हो त्यो पनि थाहा छैन् । केन्द्रमा बुझ्दा टाइप मिस्टेक भएको भन्ने जवाफ आयो ।’ 

जिल्लामा संस्थापक नेतृत्वको त्याग बलिदानलाई लत्याउँदै केन्द्रले उम्मेद्वार सिफारिस मनपरी ढङ्गबाट गर्दा जिल्ला नेतृत्वमा निरासा पैदा भएकाे उनले बताए।

निर्वाचन आयोगमा बुझाइएको बन्दसूचीमा जिल्लामै थाहा नभएका उम्मेद्वारको नाम सार्वजानिक भएसँगै डोल्पा कांग्रेसका नेताहरुले विभिन्न सामाजिक सञ्चाल मार्फत समेत असन्तुष्टि पोखेका छन् ।

रामचन्द्र न्यौपाने रामचन्द्र न्याैपाने कान्तिपुरका डाेल्पा संवाददाता हुन् ।

Link copied successfully