‘चन्दननाथ नगरपालिकामा १० वडा छन् । पहिलो चरणमा सदरमुकाम खलंगा क्षेत्रमा सडक बत्ती जोडिएको हो,’ नगर प्रमुख राजुसिंह कठायतले भने ।
What you should know
जुम्ला — जुम्लाको एकमात्र नगरपालिका चन्दननाथ नगरपालिकाले सडक बत्ती जडान गरेपछि खलंगा झलमल्ल भएको छ । अहिले रात्रिकालीन समयमा हिँड्डुल गर्न सहज हुनुका साथै अँध्यारोमा हुने सबै प्रकारका विकृति न्यूनीकरणमा टेवा पुगेको छ ।
चन्दननाथ नगरपालिकाका इन्जिनियर लोकेन्द्र महतले अहिले खलंगा बजारलाई केन्द्रित गर्दै २ सय सडक बत्ती जडान गरिएको बताए । ‘अहिले चोरी तथा आपराधिक क्रियाकलाप बढ्दै गइरहेका छन् । ती सबै रोक्न खलंगाका गल्ली, चोक र सार्वजनिक स्थानमा सडक बत्ती जोडिएको हो,’ महतले भने ।
‘चन्दननाथ नगरपालिकामा १० वडा छन् । पहिलो चरणमा सदरमुकाम खलंगा क्षेत्रमा सडक बत्ती जोडिएको हो,’ नगर प्रमुख राजुसिंह कठायतले भने, ‘अहिले धमाधम सडक बत्ती बालिएको अवस्था छ । असारसम्म सबै स्थानमा सडक बत्तीको व्यवस्थापन हुनेछ ।’
सडक बत्तीका लागि ४ हजार मिटर केबुल तार विस्तार गरिएको छ । हरेक सडक बत्तीमा ५० वाटको बल्ब राखिएको छ । नगरपालिकाले एउटा पोलमा दुईवटा बत्ती, जडान खर्च र तार गरेर १७ लाख ५० हजार रुपैयाँ लगानी गरेको छ ।
बजार क्षेत्रमा सडक बत्तीको प्रभावकारिता, दिगोपन परीक्षण गर्दै बस्ती स्तरसम्म लैजाने तयारी नगरपालिकाको छ । अर्को आर्थिक वर्षसम्म जहाँजहाँ सडक पुगेको छ, त्यहीँ त्यहीँ सडक बत्ती जडान गर्ने लक्ष्य रहेको छ । सडक बत्ती जडानले रात्रिकालीन समयमा हुने सबै प्रकारका विकृति रोक्न सहयोग पुगेको स्थानीय अर्जुन बुढाले जानकारी दिए ।
उनले भने, ‘यसभन्दा अघि चोरीका घटना धेरै बढे । अब चोरी डकैती रोकिनेछन । चोरहरूलाई निगरानी गर्न सहज हुनेछ ।’ हिउँदमा चिसो हुने भएकोले चोरीका घटनाहरू बढिरहेका छन,बुढाले भने, ‘सडक बत्ति जाडेर सुरक्षाकर्मीलाई समेत निगरानी गर्न सहज छ ।’
जिल्ला प्रहरी कार्यालय जुम्लाले आर्थिक वर्ष २०७९/८० मा चोरीसम्बन्धी पाँच मुद्दा दर्ता भई सबै फर्स्यौट भएको तथ्यांक सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०८०/०८१ मा एक र २०८१/०८२ मा चारवटा चोरीका मुद्दा दर्ता भई सबै फर्स्यौट भएको डीएसपी रबिनबाबु रेग्मीले जानकारी दिए ।
‘चालु आर्थिक वर्षको हालसम्म चोरीका मुद्दा औपचारिक रूपमा दर्ता भएका छैनन्,’ उनले भने, ‘अब सडक बत्तीले सुरक्षा दिन साथ मिल्ने अपेक्षा छ ।’ बेलुकी ६ बजेदेखि बिहान ६ बजेसम्म सडक बत्ती बलिरहन्छ । यसले ट्युसन पढ्ने विद्यार्थीलाई समेत सहज बनाइरहेको छ ।
