निकुञ्ज सुरक्षासँगै सामाजिक कार्यमा पनि अग्रसर बन्दै संग्राम शार्दूल गुल्म

संग्राम शार्दूल गुल्मको टोलीले जिल्लामा आइपर्ने बाढी पहिरो, आगलागी र आकस्मिक घटनामा समेत प्रत्यक्ष रुपमा सहभागी भएर आफ्नो भूमिका निर्वाह गर्दै आएको छ ।

पुस १७, २०८२

रामचन्द्र न्यौपाने

Sangram Shardul Gulma is taking the lead in social work along with park security

What you should know

डोल्पा — त्रिपुरासुन्दरी नगरपालिका-२ रसी गाउँ बस्ने २४ वर्षीया गर्भवती बिनाकुमारी बुढालाई तीन दिनअघि सुत्केरी व्यथाले च्याप्यो । गाउँमा भरपर्दो स्वास्थ्य चौकी नभएको र जतिसक्दो छिटो अस्पताल पुर्‍याउनु पर्ने भयो । रसी गाउँदेखि जिल्ला अस्पताल पुग्न दुई घण्टा पैदल हिँड्नु पर्छ ।

उनलाई बोकेरै अस्पताल लैजानु पर्ने भएकाले परिवारका सदस्यले तयारी गरे । गाउँसम्म कच्ची सडक पुगे पनि नियमित गाडी नआउने भएकाले स्ट्रेचरमा बोकेर अस्पताल लैजानु पर्ने भयो । त्यसपछि आफन्तले आधा बाटोसम्म पुर्‍याए । 

उनलाई छिटोभन्दा छिटो अस्पताल लैजानु पर्ने र जनशक्ति कम भएपछि तत्काल शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज सुरक्षार्थ बसेको संग्राम शार्दुल गुल्ममा कार्यरत सेनाको टोली त्यहाँ पुग्यो । हतार-हतारमा पुगेको सेनाको टोलीले बोकेर समयमै जिल्ला अस्पताल पुर्‍यायो । अहिले उनी सुरक्षित रूपमा सुत्केरी भएकी छन् । अस्पताल स्रोतका अनुसार आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था राम्रो छ । समयमै अस्पताल पुर्‍याएर गर्भवतीको ज्यान जोगिएपछि सेनाले परिवारलाई धन्यवादसमेत दिएको छ ।

यस्तै केही समयअघि फोक्सुण्डो ताल नजिकै पर्ने सुलिगार्ड झरणा आसपासमा एक्कासि माथिबाट खसेको ढुङ्गा टाउकोमा लागेर त्रिपुरासुन्दरी नगरपालिका-९ का २५ वर्षीया धनु बोहरा गम्भीर घाइते भए । त्यसलगत्तै स्थानीय र सेनाको टोली मिलेर उद्धार गरेर जिल्ला अस्पताल पुर्‍याएका थिए।

गत सोमबार पनि गुल्ममा कार्यरत सेनाको टोली र त्रिपुरा माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी भाइबहिनीहरूको टोलीले प्रशिद्ध शक्तिपीठ त्रिपुरासुन्दरी मन्दिरको सरसफाइ गर्नुको साथै भित्ते लेखनको काम समेत गरेको छ । यससँगै मन्दिरको पुरातात्त्विक महत्त्वको विषयमा जानकारी समेत लिइएको थियो ।

संग्राम शार्दूल गुल्मको टोलीले जिल्लामा आइपर्ने बाढी पहिरो, आगलागी र आकस्मिक घटनामा समेत प्रत्यक्ष रुपमा सहभागी भएर आफ्नो भूमिका निर्वाह गर्दै आएको छ ।

गुल्मको सैनिक टोलीले निकुञ्ज सुरक्षासँगै जिल्लामा आइपर्ने विभिन्न प्रकारका विपत् व्यवस्थापनका कार्य र सामाजिक कार्य सफलतापूर्वक गर्दै आएको सेनानी हरिश शाहीले जानकारी दिए ।

नेपालकै शबैभन्दा ठूलो र दुर्लभ वन्यजन्तु हिँउ चितुवाको बाग्लो बासस्थानको रुपमा चिनिने शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको सुरक्षालाई भरपर्दो बनाउन नियमित रुपमा गस्ती गर्ने सचेतना फैलाउने जस्ता काम गरिरहेको समेत सेनानी शाहीले बताए ।

डोल्पामा सेनाप्रति जनताको भरोसासमेत बढ्दै गएको सरोकारवालाले बताएका छन् ।

रामचन्द्र रामचन्द्र न्याैपाने कान्तिपुरका डाेल्पा संवाददाता हुन् ।

Link copied successfully