बिमा कम्पनीको टोली किसानको स्याउ बगैंचामा

स्याउको बिमा मूल्यांकनमा विवाद देखिएपछि टोली बगैंचामै पुगेको तातोपानी ४ का वडाध्यक्ष अमरबहादुर रोकायाले जानकारी दिए ।

पुस १७, २०८२

डीबी बुढा

Insurance company team visits farmer's apple orchard

What you should know

जुम्ला — जुम्ली किसानको स्याउको बिमा गरेको शिखर इन्स्योरेन्स कम्पनीको टोली किसानको स्याउ बगैंचामा पुगेको छ ।

बिमा कम्पनीका महाप्रबन्धक उदितप्रसाद काफ्ले नेतृत्वको बिमा टोली, स्याउ बिमा पीडित पहल समिति र तातोपानी गाउँपालिकाका जनप्रतिनिधिको टोली बगैंचामै पुगेको हो ।

स्याउको बिमा मूल्यांकनमा विवाद देखिएपछि टोली बगैंचामै पुगेको तातोपानी ४ का वडाध्यक्ष अमरबहादुर रोकायाले जानकारी दिए । पटक–पटक जुम्लाका प्रमुख जिल्ला अधिकारी प्रदीप पौडेलको रोहबरमा वार्ता हुँदा पनि निष्कर्षमा नपुगिएपछि किसानहरुको माग बमोजिम सो समयको मौसम, अन्तरपालिकाको भौगोलिक स्थित मौसम तथा जलवायु मापन प्रविधिबारे बुझ्न टोली स्थलगत अध्ययनमा निस्किएको थियो । 

टोलीले  चन्दननाथ नगरपालिका वडा नं ८,९ सिमाना जोडिएका तातोपानी ५ श्रीनगर र चन्दननाथ १० को खल्ला र लाग्नासँग सिमाना जोडिएका तातोपानी वडा नं ४ नियापानी, पोरिहाँकु, हाँकुपोखरीखालको भूगोल अध्ययन गरेको छ ।

तातोपानी वडा नं ६ बाजारावला अवस्थित मौसम तथा जल मापन साईरन प्रविधि र स्याउ फारमहरुको अवलोकन, तातोपानी वडा नं २ डाँगीवाडा स्थित जलवायु मौसम मापन केन्द्रको स्थलगत प्रविधि र रिपोटिङ सिस्टमको अध्ययनसमेत गरेको वडाध्यक्ष रोकायाले जानकारी दिए ।

टोलीले तिला गाउँपालिका र तातोपानी गाउँपालिकाको भौगोलिक सिमाना क्षेत्र वडा नं १ राँका बाईराँका र तरापी क्षेत्रको भौगोलिक बनावटको अध्ययन गर्नुका साथै तातोपानी ७ को कयारकोट र तिला गाउँपालिका बिचको भूस्थितिको समेत अवलोकन गरेको थियो ।

Insurance company team visits farmer's apple orchard

टोलीले स्थलगत अध्ययनबाट निकालेको निष्कर्षसहितको प्रतिवेदन बिहीबार बस्ने वार्तामा पेस हुने भएको छ । यता किसानले गत आइतबार देखि सदरमुकाम खलंगामा निरन्तर आन्दोलन गरिरहेका छन । शिखर इन्स्योरेन्स कम्पनीको कार्यालयमा लागेको ताला खुलेको छैन । 

अहिले प्रिमियम तिरेको रकम भन्दा कम क्षतिपुर्ति दिएको, खलंगाको मापन केन्द्रको रिर्पोट हेरेर ग्रामीण क्षेत्रको दाबी भुक्तानी दिन खोजेको, किसानको बगैंचामै नपुगेर स्याउ बिमा गरेको, वास्तविक स्याउ किसानहरु ठगिएको आरोप किसानको छ ।

तत्काल स्याउ बिमा गरे बापतको रकम निकासा गरि किसानले माग्दै आएको समस्या सम्वोधन गर्न माग गरिएको छ । जिल्लाको पातारासी, कनकासुन्दरी र तातोपानीका किसानहरु हप्तादिन देखि खलंगाका सडकमा आएर नारा जुलुस गर्ने, धर्नामा बस्नेदेखि स्थानीय प्रशासन कार्यालयमा माग लिएर क्षतिपूर्ति उपलब्ध गराइदिन आग्रह गर्ने गरिरहेका छन् ।

किसानले पाउनुपर्ने क्षतिपुर्ति बापतको रकमको टुंगो नलाग्दा सम्म जिल्ला नछाड्न कम्पनीका कर्मचारीलाई किसानले चेतावनीसमेत दिएका छन् ।

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully