कोइला बालेर सुत्दा शिशुको मृत्यु, दुई जना बेहोस

ढोका खोल्दा तारा बुढा र संगम बुढा बेहोस अवस्थामा रहेको र बालक प्रकाश बुढा सामान्य अवस्थामा रहेको निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक श्याम प्रकाश यादवले जानकारी दिए ।

पुस १७, २०८२

तृप्ति शाही

Baby dies after sleeping with coal burning, two others unconscious

वीरेन्द्रनगर — सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२, बिरुवाबारीस्थित एक कोठामा कोइला बाली सुतेका एकै परिवारका चार सदस्यमध्ये एक शिशुको मृत्यु भएको छ । ३८ दिने शिशुको मृत्यु भएको हो । परिवारकै अन्य २ जना बेहोस अवस्थामा फेला परेका छन् ।

भेरीगंगा नगरपालिका–२ घर भई हाल वीरेन्द्रनगर–१२ बिरुवाबारीमा मानबहादुर चन्दको घरमा कोठा भाडामा बस्दै आएकी तारा बुढा, उनकी भदैनी संगम बुढा, छोरा प्रकाश बुढा र छोरी प्रतीक्षा बुढा राति कोइला बाली सुतेका थिए ।

बिहीबार बिहान साढे ९ बजेसम्म नउठेपछि घरबेटीले बोलाउँदा बालक प्रकाश बुढाले ढोका खोलेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

ढोका खोल्दा तारा बुढा, संगम बुढा  र प्रतीक्षा बुढा बेहोस अवस्थामा रहेको र बालक प्रकाश बुढा सामान्य अवस्थामा रहेको निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक श्याम प्रकाश यादवले जानकारी दिए । 

चारै जनालाई तत्काल उपचारका लागि प्रदेश अस्पताल कालागाउँ, सुर्खेत लगिएकामा उपचारकै क्रममा ३८ दिनकी शिशु प्रतीक्षा बुढाको मृत्यु भइसकेको उनले बताए । बेहोस अवस्थामा रहेका अन्य दुई जनाको उपचार भइरहेको छ।

घटनास्थलमा प्रहरी टोली खटिएर मुचुल्का लगायतका प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरी मृत शिशुको शव पोष्टमार्टमका लागि प्रदेश अस्पताल पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully