कर्णाली प्रदेशका पूर्वइन्चार्ज गोरखबहादुर बोगटीसहित कर्णालीका ५ जिल्लाबाट समानुपातिक उम्मेदवार चयन
सुर्खेत — एमालेले निर्वाचन आयोगमा पेस गरेको प्रतिनिधिसभा सदस्यको समानुपातिक सूचीमा कर्णालीबाट ६ जना परेका छन् । कर्णाली प्रदेशका पूर्वइन्चार्ज गोरखबहादुर बोगटीसहित कर्णालीका ५ जिल्लाबाट समानुपातिक उम्मेदवार चयन गरिएको हो । जसमध्ये कालीकोटबाट दुईजना परेका छन् ।
हुम्लाका स्थायी बासिन्दा बोगटी खसआर्य कोटाबाट सिफारिस भएका हुन् । बोगटी २०५६ सालका प्रतिनिधिसभा सदस्य हुन् भने २०४८, २०५१ र २०६४ सालमा प्रतिनिधिसभा सदस्यमा पराजित भएका थिए ।
त्यस्तै सुर्खेतका बालाराम शर्मा र जाजरकोटका लालबहादुर महतारा पनि बन्दसूचीमा समावेश भएका छन् । शर्मा २०५४ सालमा वीरेन्द्रनगर नगरपालिका प्रमुख निर्वाचित भएका थिए भने महतारा छेडागाड नगरपालिकाका पूर्व नगरप्रमुख हुन् ।
त्यस्तै कालीकोटबाट दुर्गाबहादुर शाही र यसुदाकुमारी बराल तथा मुगुकी सोनामछिरिङ लामालाई पनि समानुपातिक उम्मेदवार बनाइएको हो । लामा आदिवासी/जनजाति र बराल अंपांग कोटाबाट सूचीमा समावेश भएको एमालेले जनाएको छ ।
एमाले प्रदेश कमिटी उपाध्यक्ष टेकराज पछाईका अनुसार कर्णालीका सबै जिल्लाबाट करिब तीन दर्जन आकांक्षीको नाम समानुपातिकतर्फ सिफारिस गरिएको थियो ।
