कर्णालीका अधिकांश बालगृह मापदण्ड विपरीत

२ बालगृहले मात्र नेपाल सरकारको बालगृह सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७९ पूरा गरेका छन् ।

पुस १४, २०८२

तृप्ति शाही

Most orphanages in Karnali are non-compliant with standards

What you should know

वीरेन्द्रनगर — कर्णाली प्रदेशमा सञ्चालित अधिकांश बालगृह मापदण्ड विपरीत रहेको पाइएको छ । बालबालिकासम्बन्धी राष्ट्रिय प्रतिवेदन, २०८२ का अनुसार कर्णालीका १० वटा बालगृह मापदण्ड विपरीत छन् । 

२ बालगृहले मात्र नेपाल सरकारको बालगृह सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७९ पूरा गरेका छन् । राष्ट्रिय बालअधिकार परिषद्बाट ६ बालगृहले सञ्चालन अनुमति प्राप्त गरेका छन् । 

प्रदेशका बालगृहमा ४ सय ३३ बालबालिका आश्रित छन् । सुर्खेतका ५ बालगृहमा २ सय ८६ बालबालिका आश्रित छन् भने कालिकोटका २ बालगृहमा २३ जना छन् । 

जाजरकोटमा भएको १ बालगृहमा २२,जुम्लामा २४,हुम्लामा ५०, मुगुमा ११ बालिबालिका आश्रित छन् । यस्तै डोल्पा जिल्लाको बालगृहमा १७ बालबालिका छन् ।

मापदण्ड विपरीत सञ्चालनमा रहेका बालगृहको खोजी भइरहेको सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाकाले जनाएको छ । मापदण्ड पूरा नगरेका बालगृह बन्द गर्ने महिला तथा बालबालिका शाखाका प्रमुख सरला रेग्मीले जानकारी दिइन् ।

केही वर्षअघि नगरपालिकाले मापदण्ड पूरा नगरेका विभिन्न बालगृहबाट बालबालिकालाई अभिभावकको जिम्मा लगाएको उनले बताइन् । यस्तै भने ४१ बालबालिका काठमाडौँको बालगृहमा पठाएको उनले बताइन् ।

राष्ट्रिय बालअधिकार परिषद् कर्णाली प्रदेशले सार्वजनिक गरेको बालबालिकाको स्थिति प्रतिवेदन अनुसार हाल बालगृहमा आश्रय लिएका बालबालिकामध्ये ७८ प्रतिशत बालबालिकालाई बालगृहको आवश्यकतानै छैन । २२ प्रतिशत बालबालिकालाई मात्रै बालगृहको आवश्यकता छ ।  

देशभर सञ्चालित ४ सय ५४ वटा बालगृहमा कर्णालीका करिब ७० प्रतिशत बालबालिकाले आश्रय लिँदै आएका राष्ट्रिय बालअधिकार परिषद् कर्णाली प्रदेशका संयोजक डम्बर रोकायाले जानकारी दिए ।

अभिभावकविहीनका लागि खोलिएका बालगृहमा आमाबुवा वा अभिभावक भएका बालबालिका बस्ने गरेका बालबालिकाको क्षेत्रमा काम गर्दै आएको हिमाली नवीन समाजका सुरेन्द्र लामा तामाङले बताए ।

तृप्ति शाही शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully