कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन सूचना प्रविधि कक्षबाटै सञ्चालन हुने

सूचना प्रविधि कक्षमा पहिले पत्रकारहरूका लागि प्रदेशसभाले सूचना ब्रिफिङ गर्दथ्यो । अहिले यही कक्षलाई बैठक सञ्चालनका लागि मर्मत र रंगरोगनको काम सुरु गरिएको छ ।

पुस १४, २०८२

तृप्ति शाही

Karnali Provincial Assembly winter session to be conducted from Information Technology Room

What you should know

वीरेन्द्रनगर — कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन सूचना प्रविधि कक्षबाटै सञ्चालन हुने भएको छ । आगामी माघ २१ बाट बस्ने हिउँदे अधिवेशनको बैठक सभाकै परिसरमा अवस्थित सूचना प्रविधि कक्षमा बस्ने भएको हो । गत भदौ २४ मा जेनजी प्रदर्शनका क्रममा आगजनी हुँदा कर्णाली प्रदेशसभा भवन ध्वस्त भएको थियो ।

सूचना प्रविधि कक्षमा पहिले पत्रकारहरूका लागि प्रदेशसभाले सूचना ब्रिफिङ गर्दथ्यो । अहिले यही कक्षलाई बैठक सञ्चालनका लागि मर्मत र रंगरोगनको काम सुरु गरिएको छ । माघ २१ गतेभित्र बोलाउनुपर्ने हिउँदे अधिवेशनका लागि अस्थायी रूपमा सूचना प्रविधि कक्षलाई प्रयोगमा ल्याउन लागिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

सभामा भएको ठूलो क्षतिले तत्कालै बन्न सक्ने अवस्था नभएपछि अस्थायी रूपमा बैठक सञ्चालनको संरचना तयार गर्न लागिएको हो । काम चलाउ बैठक कक्ष बनाउन लागिएको सूचना अधिकारी राजेन्द्र पौडेलले जानकारी दिए । पुसको अन्तिम सातासम्म अस्थायी प्रदेशसभा बैठक स्थललगायतका संरचनाको मर्मत गर्ने काम सक्ने लक्ष्य रहेको उनले बताए । यस्तै पदाधिकारीहरूको कार्यकक्ष, विषयगत समितिका बैठकस्थल पनि मर्मत सम्भारका साथै रंगरोगन पनि गर्न सुरु गरिएको छ ।

सूचना प्रविधि कक्षमा पनि क्षति पुगेको थियो तर अन्य स्थानमा सुरक्षाको दृष्टिकोणले अनुकूल नभएपछि परिसरभित्रै रहेको कक्षलाई प्रयोगमा ल्याउन लागिएको पौडेलले बताए ।

प्रदेशको भौतिक पूर्वाधार विकास निर्देशनालयमार्फत मर्मत, सम्भारको काम भइरहेको सूचना अधिकारी पौडेलले बताए । विषयगत समिति तथा पदाधिकारी कार्यकक्ष भने प्रदेशसभा नियमित बजेटबाट मर्मत कार्य भइरहेको छ । पुरानो प्रदेशसभा बैठकस्थल बनाउनका लागि अझै समय लाग्ने सचिवालयले जनाएको छ ।

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully