विद्यार्थी रोक्न संकाय थप्ने तयारीमा जुम्ला क्याम्पस

जुम्ला क्याम्पसले कानुन संकायतर्फ एलएलबी, व्यवस्थापन संकायतर्फ बीआइएचएम र बीटीटीएम तथा मानविकी तथा सामाजिक शास्त्र संकायतर्फ मास कम्युनिकेसन र सोसलवर्कलगायतका विषय सञ्चालन गर्ने योजना अघि बढाएको हो ।

पुस १४, २०८२

डीबी बुढा

Jumla Campus preparing to add faculty to prevent students

What you should know

जुम्ला — जुम्ला बहुमुखी क्याम्पसले फरक विषय अध्यननका लागि जिल्ला बाहिर जान बाध्य विद्यार्थीलाई रोक्न स्नातक तहमा संकाय थप्ने तयारी थालेकाे छ ।

शिक्षा संकाय अध्यापन गराइरहेको जुम्ला क्याम्पसले कानुन संकायतर्फ एलएलबी, व्यवस्थापन संकायतर्फ बीआइएचएम र बीटीटीएम तथा मानविकी तथा सामाजिक शास्त्र संकायतर्फ मास कम्युनिकेसन र सोसलवर्कलगायतका विषय सञ्चालन गर्ने योजना अघि बढाएको हो ।

अहिले यो क्याम्पसमा शिक्षा संकायको पढाई भइरहेको छ । ‘बर्सेनि सयौं विद्यार्थी स्नातक तथा स्नातकोत्तर अध्ययनका लागि जिल्ला बाहिर जान बाध्य छन्,’ क्याम्पस प्रमुख प्रकाशचन्द्र खत्रीले भने, ‘नयाँ संकाय थप गरेर शैक्षिक सुदृढीकरणको प्रक्रिया अघि बढाइएको छ ।’

यसका लागि क्याम्पसले स्थानीय तहका जनप्रतिनिधि, शिक्षा क्षेत्रका अगुवा, क्याम्पस प्रशासन र सरोकारवालासँग छलफल सकेको छ । ‘२०३० सालमा स्थापना भएको यो क्याम्पस जिल्लाको उच्च शिक्षा हासिल गर्ने मेरुदण्डको रुपमा परिचित छ,’ क्याम्पस प्रमुख खत्रीले भने, ‘अब संकाय विस्तार गरेर घरआँगनमै विद्यार्थीले रोजेअनुसार विषय पढ्न पाउने गरेर काम भइरहेको छ ।’

नयाँ थपिने भनिएका संकायले छिमेकी जिल्लाका विद्यार्थीलाई समेत फाइदा पुर्‍याउने क्याम्पस प्रमुख खत्रीले बताए । जिल्ला समन्वय समिति प्रमुख गौरीनन्द आचार्यले संकाय थप्नेदेखि गुणस्तरीय शिक्षा प्रदान गर्ने विषयमा सबैको हातेमालो जरुरी रहेको बताए । क्याम्पसले संकाय थपेर बजारको माग अनुसारका जनशक्ति तयार गर्न आवश्यक भएको उनले बताए । 

स्थानीय तहका प्रमुखहरुले पनि क्याम्पसले थालेको शैक्षिक अभियानलाई साथ दिने प्रतिबद्धता जनाएका छन् । कनकासुन्दरी, हिमा, तातोपानी, पातारासी गाउँपालिका र चन्दननाथ नगरपालिकाले कानुनलगायतका विषयको स्नातक र स्नातकोत्तर तहकै पढाई जुम्लामै पढाइ हुने खबरले उत्साही बनाएको बताए । उनीहरुले सकिनेसम्मको सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे । 

गाउँपालिका राष्ट्रिय महासंघका केन्द्रीय उपाध्याक्ष लक्ष्मणबहादुर शाहीले शैक्षिक क्षेत्रको विकासको लागि स्थानीय सरकार प्रतिबद्ध रहेको बताए । 

डीबी बुढा बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully