नागरिकता लिनकै लागि ३ दिन लगाएर सदरमुकाम मान्म पुग्नुपर्ने बाध्यतामा रहेका कर्णाली नदीपारिका ५ पालिकाका बासिन्दालाई लक्षित गरी रास्कोटमा इलाका प्रशासन कार्यालय स्वीकृत भएको खबरले स्थानीयले गाउँमा दिपावली गरे ।
What you should know
कालीकोट — रास्कोट नगरपालिकामा इलाका प्रशासन कार्यालय स्वीकृत भएपछि स्थानीय खुसी भएका छन् ।
गत पुस ११ गतेको मन्त्रिपरिषद् बैठकले कालीकोटको रास्कोटसहितका ८ वटा जिल्लामा इलाका प्रशासन कार्यालय स्वीकृत गरेपछि स्थानीय खुसी भएका हुन् ।
नागरिकता लिनकै लागि ३ दिन लगाएर सदरमुकाम मान्म पुग्नुपर्ने बाध्यतामा रहेका कर्णाली नदीपारिका ५ वटा स्थानीय तहका ७० हजार बासिन्दाका लागि रास्कोटमा इलाका प्रशासन कार्यालय स्वीकृत भएको स्थानीयले खबरपछि गाउँमा दिपावली गरे ।
‘नागरिकता बनाउनकै लागि ३ दिनको समय र कम्तीमा ३ हजार खर्च हुन्थ्यो,’ रास्कोट–५ विजयपुरका विमल शाहीले भने, ‘अब गाउँमै सेवा पाउने भयौं, समय र रकम बचत हुने भयो ।’
यो निर्णयले कालीकोटको कुल १ लाख ४५ हजार जनसंख्यामा मध्ये आधाजसो लाभान्वित हुने रास्कोट–१ लहरेलाकी ३५ वर्षीया सरिता शाहीले बताइन् । उनले आफू नागरिकता बनाउन जिल्ला प्रशासन जाँदा ४ दिन लागेको सुनाइन् ।
विकट भूगोल भएको कालीकोटमा नागरिकता लिनकै लागि कर्णाली नदीपारि पर्ने ५ वटा स्थानीय तह रास्कोट, नरहरिनाथ,, सान्नीत्रिवेणी, पचालझरना र पलाताका बासिन्दाले सास्ती पाउने गरेको गुनासोपछि सरकारले गत साउनमा निर्णय गरे पनि काम अघि बढ्न सकेको थिएन ।
स्थानीयको मागअनुसार यही पुस ११ गतेको मन्त्रिपरिषद् बैठकले रास्कोटसहितका ८ जिल्लामा इलाका प्रशासन कार्यालय संचालन गर्न स्वीकृति दिएपछि रास्कोट नगरपालिकामा निर्णयको स्वागत गरिएको नगर प्रमुख धर्मराज शाहीले बताए ।
उनका अनुसार रास्कोट कालीकोटको प्रदेश ख अर्न्तगतका ५ वटै स्थानीय तहका लागि पायक पर्ने स्थान हो । उनले रास्कोटलाई केन्द्र बनाएर शिक्षा, स्वास्थ्य, पर्यटन प्रर्वद्धन गर्न रास्कोटको पहल सफल हुँदै गएको सुनाए ।
रास्कोटमा इलाका प्रशासन कार्यालयको नयाँ भवन निर्माण भइरहेको छ । जिल्ला प्रशासनले कर्मचारीसहित जनशक्ति पठाएमा तत्काल बैकल्पिक व्यवस्था गरेर सेवा सुचारु गर्न सकिने नगर प्रमुख शाहीले बताए ।
रास्कोटमा इलाका प्रशासन कार्यालय स्थापना गर्न पहल गर्ने जनाउदै ०७९ को स्थानीय, प्रदेश तथा संघीय चुनावी एजेण्डा बनाएका सबै दलका नेता कार्यकर्ताले आफ्नो पहलमा सफल भएको भन्दै सामाजिक संजालमा रंग्याएका छन् ।
रास्कोटमा इलाका प्रशासन सथापना भएपछि सबैभन्दा सहज मुम्रा, सिप्खाना, स्युना, फुकोट, नानीकोटलगायतका बासिन्दालाई हुने छ । यहाँका पचालझरनाका राम्नाकोट, थिर्पु, खीन र धौलागोहका बासिन्दालाई पनि आधा बाटो छोटिने छ । बास नबसेरै एकै दिनमा नागकिरता बनाएर घर फर्किन पाइने भएपछि खुसी लागेको रास्काट–४ का कृष्णलाल सञ्जालले बताए ।
