रास्कोटमा एकै दिन ४ वडा कार्यालय भवन उद्घाटन

वडा १ देखि ४ सम्मका भवन सोमबार उद्घाटन गरेर वडालाई हस्तान्तरण गरिएको नगर प्रमुख धर्मराज शाहीले बताए।

पुस १४, २०८२

तुलाराम पाण्डे

4 ward office buildings inaugurated in Raskot on the same day

What you should know

कालीकोट — रास्कोट नगरपालिकामा सोमबार एकै दिन ४ वटा वडा कार्यालयका भवन उद्घाटन गरिएको छ ।

नगरपालिकाका ९ मध्ये ८ वटा वडा कार्यालयका नयाँ पक्की भवन निर्माण गरिएकाे हाे। वडा १ देखि ४ सम्मका भवन सोमबार उद्घाटन गरेर वडालाई हस्तान्तरण गरिएको नगर प्रमुख धर्मराज शाहीले बताए।

‘ठेक्का भएका सबै वडा कार्यालय यसै वर्षभित्र निर्माण सम्पन्न गर्ने योजना छ,’ उनले भने, ‘९ मध्ये ८ वडाका नयाँ पक्की भवन निर्माण भइसकेको र बाँकी रहेको वडा ५ को भवन पनि असारसम्म बनिसक्छ।’ 

संघीय संरचनापछि बनेको रास्कोट नगरपालिकाकाको प्रशासकीय भवन र वडा कार्यालयहरु पालिका, कर्णाली प्रदेश र संघीय सरकारको समपुरक कोषबाट निर्माण भएका हुन् । गत वर्ष ५ करोड ८२ लाख रुपैयाँको लागतमा नगरपालिकाको प्रशासकीय भवन निर्माण भएको थियो।  

नगरपालिका, प्रदेश सरकार र संघीय सरकारको समपुरक कोषबाट प्रतिवडा कार्यालयको भवन निर्माणका लागि १ करोड ४ लाखका दरले ठेक्का सम्झौता भएको थियो । नयाँ वडा कार्यालय भवन शौचालय, खानेपानीको सुविधासहितका छन्।

सबै वडाका भवन निर्माण भएपछि पालिकाबाट घरभाडा वापत खर्च भइरहेको रकम जोगिने प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाहीले बताए । नगरपालिका, प्रदेश र संघीय अनुदानमा रास्कोटको आरसिपी बजारमा निर्माण भएका व्यापारिक प्रयोजनका सटरहरुबाट भाडावाफत मासिक १ लाख बढी आम्दानी हुने गरेको छ।

यता, सदरमुकाम रहेको खाडाचक्र नगरपालिकाका ११ मध्ये ९ वडा वडा कार्यालय ९ वर्षदेखि भाडाकै घरमा छन् । खाडाचक्रमा वडा कार्यालयको भाडावापत वार्षिक १५ लाख रुपैयाँ खर्च हुने गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत जसीप्रसाद चौलागाईले बताए।  

तुलाराम पाण्डे कान्तिपुरका कालिकोट संवाददाता हुन् ।

Link copied successfully