तत्कालीन माओवादीले २०५२ देखि २०६२ सालसम्म संचालन गरेको सशस्त्र संघर्षको केन्द्र मानिएको रुकुममा बेला–बेला बेवारिसे बम/बारुद भेटिने गरेका छन् ।
रुकुम पश्चिम — चौजहारी नगरपालिका–१ स्थित एक घरमा शुक्रबार भेटिएको सकेट बम नेपाली सेनाले निष्क्रिय (डिस्पोज) पारेको छ ।
स्थानीय धिरजबहादुर क्षेत्रीको घरको कम्पाउण्ड खन्ने क्रममा शुक्रबार बिहानपख भेटिएको बम शनिबार दिउँसो १२ बजेतिर नेपाली सेनाले डिस्पोज गरेको हो ।
जिल्ला प्रहरी रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरि पुनका अनुसार शुक्रबार बिहान ७ बजेतिर शंकास्पद बस्तु भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । ‘जिल्ला सदरमुकामबाट खटिएको सेनाको टोलीले निष्क्रिय गराएको छ,’ उनले भने, ‘यो बम द्वन्द्वकालमै गाडिएको र अहिले काम गर्ने क्रममा भेटिएको हुनसक्छ ।’ यसबारे प्रहरीले थप अध्ययन गरिरहेको पनि उनले बताए ।
तत्कालीन माओवादीले २०५२ देखि २०६२ सालसम्म संचालन गरेको सशस्त्र संघर्षको केन्द्र मानिएको रुकुममा बेला–बेला बेवारिसे बम/बारुद भेटिने गरेका छन् । यो बम पनि त्यतिबेलै छिपाएर राखिएको हुनसक्ने प्रहरीको अनुमान छ ।
