सेनाकाे पश्चिम पृतना सुर्खेत विमानस्थल एयरवेशको हाताभित्र निर्माण हुने उक्त पोखरीबाट आगलागीका घटनामा हेलिकप्टरमार्फत पानी भरेर डढेलो वा अन्य आगलागीका घटना नियन्त्रण गर्न उपयोगी हुने छ ।
सुर्खेत — सुर्खेत विमानस्थल परिसरभित्र मानवीय सहायता तथा विपद् उद्वार पोखरी निर्माण हुने भएको छ।
कर्णाली प्रदेश सरकारले नेपाली सेनाको सहकार्यमा उक्त पोखरी निर्माण गर्न लागेको हो ।
सेनाकाे पश्चिम पृतना सुर्खेत विमानस्थल एयरवेशको हाताभित्र निर्माण हुने उक्त पोखरीबाट आगलागीका घटनामा हेलिकप्टरमार्फत पानी भरेर डढेलो वा अन्य आगलागीका घटना नियन्त्रण गर्न उपयोगी हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका विपद् महाशाखा प्रमुख उपसचिव उत्तम गौतमले जानकारी दिए।
उनका अनुसार उक्त प्रविधिलाई 'बम्बी बकेट' भनिन्छ । यसको अर्थ हेलिकप्टरमा झुण्ड्याइने विशेष बाल्टिन हो, जसले पोखरी वा तालबाट पानी भरेरजंगल डढेलो वा अन्य आगलागीमा खसालिन्छ।
उपसचिव गौतमले उक्त पोखरी अधिकतम ९७ फिट लामो र १३ फिट गहिरो हुने बताए। सेनाको प्राविधिक सहयोगमा निर्माण हुने याे पोखरीको लागत ९९ लाख ९६ हजार २ सय रुपैयाँ रहने उपसचिव गौतमले जानकारी दिए।
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज निर्माणको शुभारम्भ गर्दै विपद्का घटना अकस्मात हुने हुँदा पूर्वतयारीका लागि पोखरी उपयोगी हुने बताए।उनले बढ्दो सहरीकरणका कारण आगजनीका घटना प्रतिदिन बढिरहेकोले हेलिकप्टरसहित दमकलबाट समेत अग्नी नियन्त्रणमा याे पोखरीले सहज हुने बताए।
मुख्यमन्त्री कँडेलले प्रदेश सरकारले विपद् न्यूनीकरण गर्न सेनालगायत सुरक्षानिकायहरुसँग सहकार्य गरिरहेको बताउँदै विपद् न्यूनीकरणमा सामूहिक प्रयासको आवश्यक रहेको बताए।
