प्रतिनिधि सभा सदस्यका लागि गोपाल शर्माको नाम एकल सिफरिस गरिएको नेकपाका जिल्ला संयोजक गोविन्द रोकाले बताए ।
रुकुम पश्चिम — तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी लगायत दल मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) रुकुम पश्चिमले आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि गोपाल शर्माको नाम सिफारिस गरेको छ ।
मुसिकोट नगरपालिका–५ सेरिगाउँमा बिहीबार बसेको जिल्ला समितिको बैठकबाट प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्षतर्फ शर्माका साथ समानुपातिकमा चार र राष्ट्रिय सभातर्फ एक जनाको नाम सिफारिस गरेको हो ।
एकमात्र निर्वाचन क्षेत्र भएको रुकुम पश्चिममा तत्कालीन माओवादी केन्द्रमा हुँदा हालसम्मका सबै निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार भई जनार्दन शर्माले नै जित्दै आएका थिए । उनी पार्टी एकतामा नआएपछि प्रतिनिधि सभा सदस्यका लागि पहिलोपल्ट गोपाल शर्माको नाम एकल सिफरिस गरिएको नेकपाका जिल्ला संयोजक गोविन्द रोकाले बताए ।
गोपाल शर्मा २०७४ सालमा प्रदेश सभा सदस्यमा रुकुम पश्चिमबाट निर्वाचित भई अर्थमन्त्रीसमेत भएका थिए । नेकपा रुकुम पश्चिमले प्रतिनिधि सभाको समानुपातिकतर्फ आदिवासी जनजातिबाट झक्कुप्रसाद घर्ती, दलिततर्फ सुरजकुमार परियार, महिलातर्फ गीता नेपाली र खस आर्यबाट झरना शाही तथा राष्ट्रिय सभा सदस्यका लागि बुद्धिप्रसाद गौतमको नाम सिफारिस गरेको संयोजक रोकाको भनाइ छ ।
सिफारिस भएका उम्मेदवारमध्ये सुरजकुमार परियार साबिक एकीकृत समाजवादीका हुन् भने बाँकी सबै साबिक माओवादी केन्द्रका हुन् ।
