मुगुमा इन्फ्लुएन्जाको प्रकोप, घरघरै थलिए बिरामी, औषधिको अभाव

प्रकोप देखिएपछि जिल्ला अस्पताल र स्वास्थ्यचौकीहरुमा बिरामीको चाप बढेको छ । जिल्ला अस्पतालमा एक सातामा झण्डै ८ सय बिरामीको उपचार गरिएको अस्पतालका डा.दिपेन्द्रजंग शाहीले बताए ।

पुस १०, २०८२

कृष्णप्रसाद गौतम

Influenza outbreak in Mugu, patients stranded at home, shortage of medicine

What you should know

सुर्खेत — मुगुका गाउँगाउँमा इन्फ्लुएन्जाको प्रकोप देखिएको छ । छायानाथ रारा नगरपालिका–१२ बामगाउँबाट डेढ साताअघि सुरु भएको प्रकोप मुगमकार्मारोङ र खत्याड गाउँपालिकामा फैलिएको हो ।

कडा ज्वरो, रुघाखोकी, टाउको दुख्ने, रिगंटा लाग्ने, बान्ता हुने, जीउ दुख्नेलगायत लक्षण देखिएपछि स्थानीयहरु घरघरै थलिएका छन् । बिरामी बढ्दै गएपछि औषधिको अभाव देखिएको छ । 

प्रकोप देखिएपछि जिल्ला अस्पताल र स्वास्थ्यचौकीहरुमा बिरामीको चाप बढेको छ । जिल्ला अस्पतालमा एक सातामा झण्डै ८ सय बिरामीको उपचार गरिएको अस्पतालका डा.दिपेन्द्रजंग शाहीले बताए । 

उनका अनुसार अस्पतालमा दैनिक डेढसय जनासम्म बिरामी उपचारका लागि आइरहेका छन् । ‘भर्ना गरेरै बिरामी राखिएको छैन, औषधि दिएर पठाइरहेका छौ,’ उनले भने, ‘बिरामीको नमुना परीक्षण गर्दा इन्फ्लुएन्जा भएको प्रमाणित भयो, थप परीक्षणका लागि प्रदेश प्रयोगशालामा पठाउने तयारी गरिएको छ ।’ 

उनका अनुसार मुगमकार्मारोङ गाउँपालिकाको ७, ८ र ९ मा पनि बिरामीको संख्या बढेको छ । बिरामी बढेपछि डा. शाही र अस्पतालका अर्का डा. नहकुल शाहीसहितको टोली मुगमकार्मारोङ गएर फर्किएको छ । 

टोलीले झण्डै ४ सय ५० बिरामीको उपचार गरी फर्किएको उनले जानकारी दिए । ‘पालिकाले तीन महिनादेखि औषधि खरिद गरेको छैन, हाम्रो टोलीसँगै गएको औषधि पालिकाका स्वास्थ्यकर्मीलाई दिएका छौं,’ उनले भने, ‘तर घरघरै बिरामी भएकाले औषधिको अभाव देखिएको छ ।’

Influenza outbreak in Mugu, patients stranded at home, shortage of medicine

उनले मुगमकार्मारोङको पापु, माग्री, मह, छिमाललगायत गाउँमा बिरामीहरु बढिरहेको जानकारी दिए । बालबालिका र ज्येष्ठ नागरिकमा बढी स्वास्थ्य समस्या देखिएको उनको भनाइ छ । 

डेढ सातादेखि सोरु र खत्याड गाउँपालिकाका गाउँहरुमा पनि ज्वरोका बिरामी बढेका छन् । ज्वरो, मौसमी रुघाखोकीलगायतका कारण रावलबाडा, माथिलिब्रु, तलिलिब्रु, भादगाउँ, खातीकुयानी, फोतु, गिलिबिलिलगायत गाउँमा घरघरै बिरामी परेको स्थानीय स्वास्थ्यकर्मी मनिराज बुढाले बताए ।

उनका अनुसार गाउँमा बालकदेखि वृद्धसम्मलाई ज्वरोले सताएको छ । ‘बिरामी नभएका घरै छैनन्,’ उनले भने, ‘एउटै घरमा ३ जनासम्म बिरामी परेका छन्, तर गाउँको पर्याप्त औषधि नहुँदा उपचारमा समस्या छ ।’ विद्यार्थीहरु धमाधम बिरामी भएपछि पठनपाठन प्रभावित हुन थालेको कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक अंगबहादुर बुढाले बताए ।

उनका अनुसार झण्ढै अढाई सय विद्यार्थीमध्ये झण्डै ८० जना विद्यार्थीमा ज्वरो देखिएको छ । बिरामी बढ्दै गएपछि झण्डै ३ दर्जन स्वास्थ्यकर्मीलाई उपचारका लागि खटाइएको मुगमकार्मारोङ गाउँपालिका अध्यक्ष छिरिङक्याप्ने लामाले बताए । 

‘घरैपिच्छे बिरामी बढेपछि औषधिको अभाव देखिएको छ,’ उनले भने, ‘औषधिको व्यवस्थापनका लागि प्रदेश र संघीय सरकारलाई आग्रह गरिए पनि बेवास्ता भयो ।’ 

कृष्णप्रसाद गौतम कान्तिपुरका सुर्खेत संवाददाता हुन् ।

Link copied successfully