कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका उपकुलपति डा. पुजनकुमार रोकायाले स्वास्थ्य सेवा कार्यालय मुगु र मुगु अस्पतालमा समन्वय गर्दा भाइरल एन्फ्लुएन्जा फैलिएको खबर तथ्यहीन भएको जानकारी पाएको बताए ।
What you should know
जुम्ला — स्वास्थ्य सेवा कार्यालय मुगुले मुगुको राराछायाँनाथ नगरपालिकाको एक वडामा भाइरल एन्फ्लुएन्जाका कारण पाँच जनाको मृत्यु भएको भन्ने खबर भ्रमपूर्ण भएको जनाएको छ । भाइरल एन्फ्लुएन्जाका कारण हालसम्म कुनै पनि बिरामीको मृत्यु नभएको र एन्फुलुएन्जाको लक्षणसमेत नभेटिएको उसको दाबी छ ।
स्वास्थ्य सेवा कार्यालय मुगुले बिहीबार प्रेस विज्ञप्ति निकाल्दै स्थानीय तहसँग समन्वय तथा तथ्य संकलन गर्दा हालै भएका मृत्यु मुख्यतया दीर्घकालीन रोग तथा अन्य स्वास्थ्य समस्याबाट भएको समेत स्पष्ट पारेको छ । ती मृत्यु भाइरल एन्फ्लुएन्जसँग प्रत्यक्ष रूपमा सम्बन्धित तथ्य नरहेको देखिएको विज्ञप्तिमा उल्लेख छ ।
मृत्यु भएको भनिएको वाम क्षेत्रमा स्वास्थ्य सेवा कार्यालय मुगुको चिकित्सक टोली पुगेर ३ सय २८ जनाको स्वास्थ्य परीक्षण गरेको थियो । सो क्रममा केहीमा फ्लु तथा भाइरल ज्वरोको लक्षण देखिए पनि बिरामीलाई अस्पतालमै पुर्याएर भर्ना गर्नुपर्ने अवस्था नदेखिएको स्वास्थ्य सेवा कार्यालय मुगुले जनाएको छ ।
‘मुगुको कार्मारोङ गाउँपालिकामा पनि चिकित्सक टोली पुगेर तीनदिने स्वास्थ्य परीक्षण गरेर फर्किएको थियो । ‘माग्री क्षेत्रमा १० जनामा फ्लुजस्ता लक्षण देखिएका बिरामी भेटिएका थिए,’ निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डा. पूजा आचार्यले प्रेस विज्ञप्तिमा भनेकी छिन्, ‘संकलन गरिएका मध्ये एक जनामा एन्फ्लुएन्जा टाइप बी पुष्टि भएको छ । शंकास्पद देखिएका बिरामीहरूको भिटिएम नमुना संकलन गरेर प्रदेश जनस्वास्थ्य प्रयोगशाला सुर्खेतमा पठाउने प्रक्रिया अघि बढाइएको छ ।’
‘बिरामीहरूको आवश्यक स्वास्थ्य परीक्षण, औषधि वितरण गरिएको थियो,’ डा. आचार्यले भनिन्, ‘हालसम्म कुनै पनि बिरामीलाई अस्पताल भर्ना गर्नुपर्ने अवस्था छैन ।’
यता कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले भाइरल एन्फ्लुएन्जा फैलिएको खबर प्राप्त हुने वित्तिकै मुगु अस्पतालसँग समन्वय भएको जनाएको छ । उपकुलपति डा. पुजनकुमार रोकायाले स्वास्थ्य सेवा कार्यालय मुगु र मुगु अस्पतालमा समन्वय गर्दा भाइरल एन्फ्लुएन्जा फैलिएको खबर तथ्यहीन भएको जानकारी पाएको बताए ।
