भवितव्यमा बनेको सरकारसँग के आश गर्ने ? : मुख्यमन्त्री कँडेल

मुख्यमन्त्री कँडेलले सुरक्षामा चुनौती, मनोवैज्ञानिक त्रास र राजनीतिक दलप्रतिको नकारात्मक भावका कारण तोकिएको निर्वाचन मिति असम्भव देखिएको बताए।

पुस ९, २०८२

ज्योति कटुवाल

What to expect from the government formed in the future?: Chief Minister Kandel

What you should know

सुर्खेत — कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले जेन–जी आन्दोलनको भवितव्यमा बनेको सरकारसँग धेरै आशा नगर्ने बताएका छन् । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सञ्चालन भइरहेको प्रदेश सुरक्षा गोष्ठीमा मुख्यमन्त्री कँडेलले नेपालको संविधान अहिले अर्धमुर्छित अवस्थामा रहेकाले जेन–जीका नामबाट बनेको सरकारबाट धेरै आशा नगर्ने बताए ।

‘सरकारको प्रचारबाजी गर्न हचुवाका भरमा जे पनि निर्णय गरेर हुन्छ ?,’ उनले कार्यक्रममा उपस्थित भएका गृहमन्त्री सामु प्रश्न गरे, ‘आसन्न फागुन २१ गतेको निर्वाचनको मिति र कर्णालीमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कसरी सँगै सम्भव हुन्छ ? कर्णालीका दुर्गम जिल्लामा यो समयमा चुनाव गराउन सकिन्छ ? सुरक्षाका हिसाबले कति चुनौती छ, हेर्नु पर्दैन ?’

भदौ २३ र २४ पछि नागरिकमा मात्र नभएर सुरक्षाकर्मीमा पनि मनोवैज्ञानिक त्रास देखेको बताउँदै मुख्यमन्त्री कँडेलले जेन–जी पुस्ताले भदौ २३ गते पवित्र उद्देश्यका साथ थालेको सुशासन र भ्रष्टाचार नियन्त्रणको मागपछि राखेको बताए । तर भदौ २४ गते अराजकता र उदण्डताको परिस्थिति उत्पन्न भएपछि समाजमा नकारात्मक भाव आएको र सुरक्षा प्रणालीप्रति गम्भीर प्रश्नहरू पैदा भएको उनले बताए ।

यतिबेला मुलुकका प्रमुख राजनीतिक दल र शीर्ष नेताहरूप्रति घृणायुक्त भावहरू फैलाइराखिएको उनले बताए । ‘जेन–जीका नाममा कुनै अमुक व्यक्ति समूहले स्थानीय प्रहरी प्रशासनमाथि दबाब सिर्जना गरिरहेको छ । सुरक्षा प्रमुखहरूबाट अभिव्यक्त नभए पनि भयमुक्त अवस्थामा स्वतन्त्र र निर्भय रूपमा काम गर्ने वातावरण छैन,’ उनले भने, ‘लुटिएका हतियार र भागेका कैदीहरूले कतिबेला बदलाभाव लिएर कसको हत्या गर्ने हुन् भन्ने नागरिकमा त्रास छ । गाउँमा राजनीतिक कार्यक्रम लिएर जाँदा कतै असहज भइहाल्यो भने आफ्नै सुरक्षाका कारण प्रहरी प्रशासन पुगिहाल्नेमा संशय छ ।’

उनले मुलुकको प्रमुख दलका पार्टी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्रीमाथि स्थानहद तोकिएकोमा आपत्ति जनाउँदै यस्तो अवस्थामा फागुन २१ गते निर्वाचन गर्ने वातावरण नबन्ने ठोकुवा गरे ।

ज्योति कटुवाल कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully