बुधबार काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरुको बैठकले प्रत्यक्षतर्फको उम्मेवार टुंगोमा पुर्याएर ५ जनाको नाम सिफारिस गरेको हो ।
What you should know
जुम्ला — नेपाली कम्युनिस्ट पार्टी जुम्लाले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि संविधानसभा सदस्य नरेश भण्डारीसहित ५ जनाको नाम प्रत्यक्षतर्फ सिफारिस गरेको छ ।
बुधबार काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरुको बैठकले प्रत्यक्षतर्फको उम्मेवार टुंगोमा पुर्याएर ५ जनाको नाम सिफारिस गरेको हो । मंसिर २८ गते सुर्खेतमा उपलब्ध नेता, कार्यकर्ताहरुको सुझावका आधारमा उम्मेदवारको सिफारिस गरिएको नेकपा नेता नविन शर्माले जानकारी दिए । उनका अनुसार नरेश भण्डारीसँगै दलबहादुर जिसी, नमराज न्यौपाने, अम्मराज शाही र हरिबहादुर रावलको नाम सिफारिस गरिएको छ । प्रत्यक्षमा चन्द्रबिर तिरुवाले दाबी गरे पनि उनले नाम फिर्ता लिएका छन् ।
सिफारिस गरिएकामध्ये भण्डारी २०६४ सालमा निर्वाचित संविधानसभा सदस्य हुन् । २०७४ सालमा कर्णाली प्रदेशसभा सांसद बनेका भण्डारी पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री बने । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका परिकल्पनाकारसमेत रहेका भण्डारी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा एक नम्बरमा सिफारिसमा परेका छन् । उनी नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज थिए ।
यसैगरी दलबहादुर जिसी माओवादी केन्द्रका केन्द्रीय सदस्य र जुम्ला जिल्लाका सहइन्चार्ज थिए । नवराज न्यौपाने माओवादी केन्द्रका जिल्ला संयोजक र वैकल्पिक केन्द्रीय सदस्य हुन् । उनी २०७४ सालमा तातोपानी गाउँपालिकाका निर्वाचित पालिका अध्यक्ष हुन् ।
अम्मराज शाही विद्यार्थी राजनीतिबाट उदाएका युवा नेता हुन् । उनी २०७४ सालमा हिमा गाउँपालिका अध्यक्षको उम्मेदवारसमेत थिए । माओवादी केन्द्रका केन्द्रीय सदस्य बनेका शाही यो पटक प्रत्यक्षको उम्मेदवारको नामको सूचीमा परेका छन ।
हरिबहादुर रावल नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष बनिसकेका हुन । नेता शर्माका अनुसार समानुपातिकतर्फको उम्मेवारहरुको नाम टुंगो लागेपछि सिफारिस हुन सकेको छैन । धेरैले आकांक्षा राखेकोले निर्णायक छलफल गरेर मात्र बिहीबार सिफारिस गर्ने तयारी भइरहेको उनको भनाइ छ ।
