गृहमन्त्रीलाई मुख्यमन्त्री कँडेलको प्रश्न– अहिलेकै अवस्थामा निर्वाचन कसरी गर्नुहुन्छ?

मुख्यमन्त्री कँडेलले भदौ २३ र २४ गतेपछि सुरक्षा अवस्था पहिलेको जस्तो नरहेको र सुरक्षाकर्मीमा समेत मनोबैज्ञानिक त्रास रहेको भन्दै यस्तै अवस्था रहे निर्वाचनको वातावरण बन्न नसक्ने दाबी गरे ।

पुस ९, २०८२

ज्योति कटुवाल

Chief Minister Kandel's question to the Home Minister: How will you hold elections in the current situation?

What you should know

सुर्खेत — कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले फागुन २१ गते तोकिएको मितिमा निर्वाचन हुने विषय अझै संशयमा रहेको बताएका छन् ।

बुधबारदेखि वीरेन्द्रनगरमा सुरु भएको प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा मुख्यमन्त्री कँडेलले सरकारका कतिपय गतिविधिकै निर्वाचनको वातावरण अझै तयार नभएको दाबी समेत गरे ।

मुख्यमन्त्री कँडेलले भदौ २३ र २४ गतेपछि सुरक्षा अवस्था पहिलेको जस्तो नरहेको र सुरक्षाकर्मीमा समेत मनोबैज्ञानिक त्रास रहेको भन्दै यस्तै अवस्था रहे निर्वाचनको वातावरण बन्न नसक्ने दाबी गरे । 

‘यहाँ व्यक्त नभए पनि सुरक्षाकर्मी साथीहरु एकप्रकारले मनोबैज्ञानिक रुपमा त्रसित हुनुहुन्छ, निर्वाचनका सन्दर्भमा दलहरुबीच नै सहमति छैन, निर्वाचनको बुथमा रहने ४ जना प्रहरीको भरमा मतदान केन्द्रको सुरक्षा कसरी हुन्छ ? मुख्यमन्त्री कँडेलले प्रमुख दलका शीर्ष नेतालाई स्थानहद तोकेर निर्वाचनको वातावरण बन्न नसक्ने बताउदै यस सम्बन्धमा सरकारले तत्काल निर्णय गर्नुपर्ने धारणा राखे । 

उनले भने, ‘दलीय व्यवस्थामा दललाई पाखा राखेर निर्वाचनको वातावरण सम्भव छैन, निर्वाचन गराउने हो भने, दलहरुसँग सघन छलफल गर्नुहोस् ।’ मुख्यमन्त्री कँडेलले प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख दलका शीर्ष नेताहरुसँग गरेको संवादलाई सकारात्मक रुपमा लिनुपर्ने र यस्तो संवाद र छलफलले मात्र मुलुकलाई निर्वाचनमा लैजान सकिने बताए ।

जेन–जीका नाममा समाजमा कतिपय आतंक सृजना गरिएको बताउँदै मुख्यमन्त्री कँडेलले कानुन उल्लंघन गर्ने जो–कोहीलाई पनि दण्डित गर्ने अवस्था नरहे शान्ति सुरक्षा बनावटी मात्र हुने धारणा राखे । उनले भने, ‘भदौ २३ गते युवाहरुले उठाएको भ्रष्टाचार नियन्त्रण र सुशासनको मागप्रति कसैको विमति छैन । तर २४ गते भएको विध्वंश र आगजनी गर्नेमाथि कारबाही नभएसम्म शान्ति सुरक्षाप्रति विश्वस्त हुने अवस्था छैन ।’

ज्योति कटुवाल कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully