खाद्यान्न बालीमा जंगली जनावरले क्षति गर्न थालेपछि सल्यानको सिद्धकुमाख, कुमाख र दार्मा गाउँपालिका किसान विकल्पको रुपमा अलैंची खेतीमा लागेका हुन् ।
What you should know
सल्यान — सिद्धकुमाख गाउँपालिका–३ कालालेकका ७० वर्षीय दलबहादुर बुढाथोकी १६ रोपनी खेतमा धान रोप्थें ।
वन्यजन्तुकाे क्षतिले धानको उत्पादन भित्र्याउन नपाउँदा उनले त्यो जग्गामा अहिले अलैंची खेती गरेका छन् । यो वर्ष मात्र उनले किलोको २ हजार ५ सयका दरले अलैंची बेचेर बिक्रि गरेर ४ लाख रुपैयाँ कमाए ।
सिद्धकुमाखकै भद्रबहादुर बुढाथोकीले पनि १२ मुरी धान फल्ने खेतमा अलैंची रोपेका छन् । राम्रो आम्दानी हुने र धेरै कष्ट उठाउन नपर्ने भएपछि अलैंची खेती गरेका उनले यो वर्ष २ लाख कमाएका छन् ।
बँदेल, घोरल, रतुवा, बाँदर जस्ता वन्यजन्तुले खाद्यान्न बाली सखाप बनाउँदा भित्र्याउन नपाउने समस्या बढ्दै गएकाले कालालेकका २५ परिवारले खेतीयोग्य, बाँझो जग्गा, पानीको मुहान भएका स्थानमा ं अलैंची लगाएका छन् ।
पछिल्लो समय सल्यानको सिद्धकुमाख, कुमाख र दार्मा गाउँपालिका किसान नगदेबाली अलैंची खेती तर्फ उत्साहित भएका छन् । खेतबारीको खाद्यान्न जंगली जनावरले सखाप बनाउन थालेपछि विकल्पको रुपमा यहाँका किसान अलैंची खेतीमा लागेका हुन् ।
१० रोपनीमा अलैंची खेती गरेपछि वार्षिक ३/४ लाख आम्दानी भइरहेको कुमाख गाउँपालिका–७ च्युरानेटाका अमृत खत्रीले बताए । ‘अन्नबाली लगाउँदा जंगली जनावरले खाएर भित्र्याउने बेला रित्तै फर्किनु पर्थ्यो । परिवार पाल्न मजदुरी गर्न बाध्य हुन्थे । अहिले अलैंची लगाएपछि जनावरले खाने डर छैन । वार्षिक ३/४ लाख आम्दानी हुने भएपछि परिवार पाल्न सजिलो भएको छ,’ उनले भने ‘अलैंचीको उत्पादन त राम्रो छ तर सिँचाइको समस्याले केही कठिनाई भएको छ ।’
एक पटक लगाएपछि बारम्बार रेखदेख गर्न नपर्ने भएकाले बाँझो जग्गालगायत सिँचाइ गर्न सकिने खोल्सीमा एक सय भन्दा बढी बोट अलैंची रोपेको दार्मा गाउँपालिका–५ का धनवीर बुढाथोकीले बताए । अलैंची खेती गरेपछि अहिले घर खर्च चलाउन सहज भएको उनले बताए ।
खेत र पाखोबारीमा ५० बोट अलैंची रोप्दा राम्रो उत्पादन भएपछि अहिले ६ रोपनीमा लगाएको कुमाख–६ का खिमबहादुर बुढाथोकीले बताए । अलैंची बेचेर वर्षमा १ लाख ५० हजार कमाइरहेको उनले जानकारी दिए । ‘खाली जग्गामा अलैंची लगाएपछि राम्रै भएको छ । जनावरले खाला भन्ने डर छैन र बाली जोगाउनका लागि दिनरात पहरा दिनुपर्ने बाध्यता पनि छैन,’ उनले भने ।
कुमाख–३, ६ र ७ का सय भन्दा बढी किसानले २ सय बढी रोपनीमा अलैंची खेती गरेको गाउँपालिकाका कृषि प्राविधिक शिवप्रकाश ओलीले बताए । पछिल्लो समयमा किसानले अलैंची खेतीमा चासो पालिकाले पनि सहयोग गरिरहेको उनले बताए ।
जिल्ला कृषि विकास कार्यालय प्रमुख महेश आचार्यले राम्रो भाउ पाएपछि सल्यानमा १५ हेक्टर बढी जग्गामा अलैंची खेती भइरहेको बताए । जिल्लामा गत वर्ष ९ मेट्रिक टन उत्पादन भएको उनले बताए ।
