वडा कार्यालयले प्रत्येक वर्ष विभिन्न कार्यक्रम गरेर जेष्ठ नागरिकलाई सम्मान र सहयोग गर्दै आएको छ।
सल्यान — त्रिवेणी गाउँपालिका–४ ले वडाभित्रका १ सय २२ जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई सम्मान स्वरुप अण्डा र हर्लिक्स वितरण गरेको छ ।
पोषणमा सहयोग पुर्याउने उद्देश्यले वडा कार्यालयले जेष्ठ नागरिकलाई एक/एक क्यारेट अन्डा र हर्लिक्स वितरण गरेको हो ।
पछिल्लो समय युवा पुस्ता बैदेशिक रोजगारीमा गएका र घरमा जेष्ठ नागरिक स्याहारको अभाबमा पोषिलो खानेकुराबाट बञ्चित हुँदा स्वास्थ्यमा पोषणको कमी देखिन थालेपछि जेष्ठ नागरिक तथा अपाङ्गता भएका ब्यक्तिलाई एक/एक क्यारेट अन्डा र हर्लिक्स वितरण गरेको वडाध्यक्ष छविकुमार शर्माले बताए ।
जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य परीक्षण समेत गरिएको उनले जानकारी दिए । वडाले प्रत्येक वर्ष विभिन्न कार्यक्रम गरेर जेष्ठ नागरिकलाई सम्मान र सहयोग गर्दै आएको उनले बताए ।
