दर्खास्त दिनेमा पूर्वसदस्य-सचिव , उपाध्यक्ष र सदस्यदेखि कर्णाली प्रदेशका मुख्यमन्त्रीका निवर्तमान स्वकीय सचिवसम्म रहेका छन् ।
What you should know
वीरेन्द्रनगर — कर्णाली खेलकुद विकास परिषद्को सदस्य-सचिवका लागि २१ जनाको आवेदन परेको छ । सामाजिक विकास मन्त्रालयले मंसिर ९ मा रिक्त उक्त पदका लागि दरखास्त आह्वान गरेको थियो । दर्खास्त दिने अन्तिम मितिसम्म २१ जनाले आवेदन दिएको मन्त्रालयको खेलकुद महाशाखाले जनाएको छ।
दर्खास्त दिनेमा पूर्व सदस्य-सचिव , उपाध्यक्ष र सदस्यसमेत छन् । यस्तै मुख्यमन्त्री यामलाल कँडेलका निवर्तमान स्वकीय सचिवसम्मले आवेदन दिएका छन् ।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्का पूर्वसदस्य-सचिव विश्वमित्र संज्यालले दोस्रो कार्यकालका लागि दर्खास्त हालेका छन्। उनी ६ पुस २०७७ मा परिषद्को पहिलो सदस्य-सचिव नियुक्त भएका थिए। उनको कार्यकाल २०८१ पुसमा सकियो । कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका-६ का संज्याल खेल पूर्वाधार क्षेत्रकै इन्जिनियर हुन्।
परिषद्का पूर्वउपाध्यक्ष प्रमोद हमालले पनि सदस्य-सचिवमा दर्खास्त दिएका छन्। सुर्खेतको वीरेन्द्रनगर-५ का हमाल ६ पुस २०७७ मा कर्णाली प्रदेश खेलकुद विकास परिषद्को पहिलो उपाध्यक्ष नियुक्त भएका थिए।
तत्कालीन सदस्य रहेकी दैलेखकी हेमा खड्काले पनि सदस्य-सचिव पदका लागि दर्खास्त दिएकी छन्। उनी पनि ६ पुस २०७७ मा सदस्य नियुक्त भएकी थिइन्।
दर्खास्त दिनेमा कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेलका निवर्तमान स्वकीय सचिव घनश्याम पाण्डे पनि छन् । सुर्खेतको बराहताल गाउँपालिका-८ का पाण्डे कँडेलको सचिवालयमा रहेर काम गरिरहेका थिए। संघीय सरकारले खर्च मितव्ययिताका लागि परिपत्र गरेपछि उनी सचिवालयमा छैनन् ।
सदस्य-सचिवका लागि आवेदन दिनेहरूमा जुम्लाका चेतनराज गिरी, सुर्खेतका प्रभात थापा, दिलीप बस्याल, जगत प्याकुरेल, केशरबहादुर रोकाय, टंकप्रसाद गैरे, दीपक हमाल, पदम वन, गणेशबहादुर शाही रहेका छन् । यस्तै रेशमबहादुर गुरुङ, रवीन्द्र चन्द, रुकुम पश्चिमका लीलाप्रसाद ढकाल, कालीकोटका पंखबहादुर मल्ल, मनराज शाही, दैलेखका पनकुमार थापा, गणेश खनाल र जगतप्रसाद रिजालले पनि दरखास्त दिएका छन्।
२०८१ पुसमा परिषद्का सदस्य-सचिव लगायतका पदाधिकारीको कार्यकाल सकिएपछि परिषद् पदाधिकारीविहीन बनेको छ ।
सामाजिक विकास मन्त्रालयले सदस्य-सचिव छनोटका लागि सिफारिस समिति बनाएको छ। सामाजिक विकास मन्त्रालयका सचिवको संयोजकत्व रहने गरी नन्दा बस्याल र गणेश कार्कीलाई विज्ञ सदस्य तोकिएको छ। मन्त्रालयको युवा तथा खेलकुद महाशाखाको प्रमुख सिफारिस समितिको सदस्य-सचिव हुने व्यवस्था छ।
कर्णाली सरकारले गत १८ जेठमा मन्त्रिपरिषद् बैठकबाट सामाजिक विकास मन्त्रालयका उपसचिव जवाहरलाल हमाललाई अर्को व्यवस्था नहुन्जेल सदस्य-सचिवको जिम्मेवारी तोकेको थियो। उक्त निर्णय खेलकुद विकास परिषद् ऐनविपरीत भएको भन्दै उच्च अदालतमा रिट परेपछि नियुक्ति खारेज भएको थियो ।
