कर्णालीमा एनसीसी तालिमप्रतिविद्यार्थीको आकर्षण बढ्दो

कर्णालीका दस जिल्लाका १ सय १० विद्यालयका ३ हजार ७ सय २२ विद्यार्थीले सेवादलको तालिम लिए

पुस ६, २०८२

ज्योति कटुवाल

Students' interest in NCC training growing in Karnali

सुर्खेत — नेपाली सेनाले दिने एनसीसी तालिममा विद्यार्थीको आर्कषण बढ्दै गएको छ ।  राष्ट्रिय सेवा दलमार्फत दस जिल्लाका विद्यार्थीहरुलाई कर्णालीमा २०७४ सालबाट सेवा दलको तालिम दिन सुरु गरेको थियो ।

सभ्य, अुनशासित र असल नागरिक उत्पादन गर्ने भन्दै विद्यालयस्तरबाट एनसीसी तालिम दिन थालिएको उत्तरपश्चिम पृतना हेडक्वार्टरका पृतनापति दिपेशजंग शाहले बताए । उनका अनुसार सेवादलको तालिम प्राप्त गरेका विद्यार्थीले दैविक प्रकोपको उद्धारदेखि लागुऔषध र मानव बेचबिखनविरुद्धका अभियान चलाएका छन् ।

‘एनसीसी तालिम प्राप्त विद्यार्थीको बानी व्यवहार तथा आचरणमा परिवर्तन देखेपछि अहिले विभिन्न विद्यालयमा यो तालिम माग बढेको छ,’ उनले भने, ‘अभिभावकहरू पनि सेवादलको तालिमप्रति सकारात्मक देखिनु भएको छ ।’ 

कर्णालीका दस जिल्लाका १ सय १० विद्यालयका ३ हजार ७ सय २२ विद्यार्थीले सेवादलको तालिम लिएको राष्ट्रिय सेवा दल पश्चिम तालिम शिक्षालयका तालिम शिक्षा अधिकृत शान्ति आचार्यले बताइन् । हरेक वर्ष निश्चित संख्यामा दिने गरेको यो तालिमले विपत्‌मा राष्ट्रका निम्ति योगदान गर्न सक्ने कर्मठ, इमान्दार राष्ट्रभक्त जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको उनको भनाइ छ ।

उनका अनुसार कर्णालीका विद्यालयले हाम्रो सेवा दलको मापदण्ड पूरा गर्न नसक्दा कर्णालीमा सिनियर डिभिजनको तालिम हुन सकेको छैन । हालसम्म जुनियर डिभिजनका लागि मात्र तालिम भएको छ । ७९ दिनको विद्यालयमा तालिमपछि पश्चिम तालि केन्द्रमा २१ दिने क्याम्प तालिम हुन्छ ।

ज्योति कटुवाल कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully