कर्णालीमा विषयगत शिक्षक नहुँदा पढाइ प्रभावित, ट्युसनकै भरमा एसइई

कर्णाली प्रदेशमा कक्षा १ देखि १० सम्मका ४ हजार ९ सय ९३ शिक्षक रिक्त छन् । अंग्रेजी, गणित र विज्ञान शिक्षकको चरम अभाव छ। पटक-पटक विज्ञापन गर्दा समेत शिक्षक नआएपछि पढाइ प्रभावित भएको छ।

पुस ५, २०८२

कृष्णप्रसाद गौतम

Education affected due to lack of subject-specific teachers in Karnali, SEE based on tuition

What you should know

सुर्खेत — कालिकोटको नरहरिनाथ–७ स्थित रुपादेवी माध्यमिक विद्यालयले कात्तिक ३० गते गणित शिक्षकका लागि १९ औँ पटक विज्ञापन गर्‍यो । विद्यालयले संघीय अनुदान कोटामा वैशाखयता १५/१५ दिनको फरकमा विज्ञापन गरेको गर्‍यै छ ।

‘जति खोले पनि आवेदन नै पर्दैन,’ विद्यालयका प्रधानाध्यापक दानबहादुर बुढाले भने, ‘शिक्षक नहुँदा कोर्ष कहिल्यै पूरा हुँदैन, विद्यार्थी ट्युसनका भरमा एसइई दिन बाध्य छन् ।’ २०३५ सालमा स्थापना भएको विद्यालयमा ३ सय ७५ जना विद्यार्थी अध्ययनरत छन् भने ३ प्रावि स्थायी दरबन्दीको भरमा विद्यालय चलेको छ । पठनपाठनमा समस्या भएपछि विद्यालयमा गाउँपालिका अनुदान र निजी स्रोतमा १३ शिक्षक राखिएको छ ।

  कालिकोटकै शुभकालिका गाउँपालिका–२ बालाचौरस्थित कालिका माविले गत शैक्षिक सत्रका लागि मावि तहको विज्ञान विषयका लागि ५ पल्ट विज्ञापन गर्दासमेत शिक्षक पाएन । कसैको आवेदन नपरेपछि शैक्षिक सत्र २०८१/८२ का लागि गाउँपालिकाबाट प्राप्त विज्ञान विषयको संघीय अनुदान फ्रिज भयो ।

कर्णाली प्रदेशमा कक्षा १ देखि १० सम्मका ४ हजार ९ सय ९३ शिक्षक रिक्त छन् । प्रदेशभरिका २ हजार ९ सय ३१ सामुदायिक विद्यालयमा ११ हजार ८ सय ६५ मात्र दरबन्दीका शिक्षक छन् । प्राथमिक विद्यालयमा ६ सय ४४, निम्न माध्यमिक तहमा २ हजार ६ सय र माध्यमिक तहमा १ हजार ७ सय ४९ शिक्षकको दरबन्दी पूर्ति हुन नसकेको सामाजिक विकास मन्त्रालयको शिक्षा महाशाखाले जनाएको छ ।

‘अंग्रेजी, गणित र विज्ञान शिक्षकको चरम अभाव छ,’ महाशाखाका वरिष्ठ शिक्षा अधिकृत बलवीर सुनारले भने, ‘शिक्षक अभावले सबैजसो विद्यालयमा कुनै न कुनै कोर्ष अपुरै हुन्छन्, जसको प्रत्यक्ष असर बर्सेनि एसइई नतिजा कमजोर बनिरहेको छ ।’ उनका अनुसार माध्यमिक तह (९ र १०) मा स्वीकृत दरबन्दी १ हजार ४ सय १४ हो । जसमा १ हजार ३ सय ६० शिक्षक कार्यरत छन् । अस्थायी, राहत र निजी स्रोतका ८ सय ५४ शिक्षक कार्यरत रहेको महाशाखाको तथ्यांक छ ।  

शिक्षकको अभावमा पढाइ पूरा नहुँदा विद्यार्थीलाई भने ट्युसनकै भर छ । कालिकोटको तिलागुफा नगरपालिका–४ राचुलीस्थित कालिका माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत ३३ जना विद्यार्थीमध्ये अधिकांश विद्यार्थी तिहार लगत्तै ट्युसन पढ्न सुर्खेत झरिसकेको विद्यालयका प्रधानाध्यापक चक्रबहादुर शाहीले बताए ।

‘विषयगत शिक्षक नहुँदा तल्लो तहका शिक्षकबाट माध्यमिक तहको पठनपाठन गराइरहेका छौ, कोर्ष पनि आधा सकिएको छैन,’ उनले भने, ‘विद्यार्थी नहुँदा पठनपाठन रोकिएको छ, ट्युसन पढ्न सुर्खेत र सदरमुकाम मान्म जाने त यहाँका लागि फेसनजस्तै भइसक्यो, अब विद्यार्थीहरू फागुन—चैतमा मात्र एसइई दिन जिल्ला फर्किन्छन् ।’ उनका अनुसार गत वर्ष विद्यालयबाट ३४ जनाले एसइई दिएकोमा नियमिततर्फ एक जना मात्र उत्तीर्ण भएका थिए । विद्यालयमा माध्यमिक तहका स्थायी शिक्षकको संख्या शून्य छ भने २ राहत र एक जनापालिका अनुदानका शिक्षकले पठनपाठन गरिरहेका छन् ।

तिलगुफाकै शिवालय माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत समीर शाहीले मंसिर पहिलो साता ट्युसन पढ्न सुर्खेत झरेको बताए । ‘गाउँमै पढ्दा कोर्ष सकिने छाँटकाट देखिएन, त्यसैमा दसै र जाडो बिदाले पढाइ रोकियो,’ उनले भने, ‘अब गाउँमा बस्दा एसइईको तयारी नपुग्ने देखिएपछि यता आएर ट्युसन सुरु गरेका हौ ।’ उनीसहितकक्षा १० कै कमल ढकालले पनि एक इन्स्टिच्युटमा ट्युसन पढिरहेका छन् । विद्यालयबाट झण्डै एक दर्जन विद्यार्थीहरूले आफूहरुसॅग ट्युसन पढिरहेको ढकालले बताए । 

कालिकोट, मुगु, जुम्लालगायत हिमाली जिल्लाका विद्यार्थीले अहिले प्रदेश राजधानी वीरेन्द्रनगरका ट्युसन सेन्टरहरू खचाखच भरिएका छन् । ट्युसन सेन्टरले प्रतिविद्यार्थी ३ हजार ५ सय प्रतिविषय शुल्क लिएर ट्युसन पढाइरहेका छन् । दसैँ बिदाअघि ३० जना विद्यार्थी नियमित विद्यालय आउने गरेकोमा अहिले अधिकांश विद्यार्थी ट्युसन पढ्न बाहिर गएको कालिकोटकै महादेव माध्यमिक विद्यालयका प्रधानाध्यापक तिलकप्रसाद न्यौपानेले बताए ।

उनका अनुसार कक्षा १० मा झण्डै ६० देखि ८० प्रतिशतसम्म कोर्ष सकिएको छ । ‘एसइई दिने  विद्यार्थीका लागि गाउँमै अतिरिक्त कक्षाको व्यवस्था गर्न सके अभिभावकको खर्च जोगिन्थ्यो, विद्यार्थीको शैक्षिक गुणस्तर पनि बढ्थ्यो,’ उनले भने, ‘यसमा विद्यालयको प्रयासले मात्र विद्यार्थी रोक्न सक्ने अवस्था छैन ।’ उनका अनुसार विद्यालयमा ४ जना माध्यमिक तहका शिक्षक कार्यरत छन् ।

Education affected due to lack of subject-specific teachers in Karnali, SEE based on tuition

विषयगत शिक्षकको अभाव, चिसो मौसम, देखासिकी र बाहिरै पढ्नुपर्ने विद्यार्थीको मानसिकताले विद्यार्थीलाई गाउँमा रोक्न नसकिएको तिलागुफा नगरपालिका प्रमुख शंकरप्रसाद उपाध्यायले बताए । ‘कम्तीमा ४ महिना विद्यार्थीहरू सुर्खेतमा ट्युसन पढ्छन्, एक महिनामा कम्तीमा विद्यार्थीको १० देखि १२ हजार खर्च हुन्छ,’ उनले भने, ‘यहाँका अभिभावकहरू सबैजसो विपन्न छन्, जसका कारण ऋण खोजेर भए पनि बालबालिकालाई सुर्खेत पढाउनुपर्ने बाध्यता छ ।’

उनले एसइई दिने विद्यार्थीहरू बाहिर जाने प्रवृत्ति वर्षौदेखि रहेकाले रोक्नका लागि कार्य योजना बनाउन थालिएको जानकारी दिए । शिक्षा विकास तथा समन्वय इकाईका अनुसार कालिकोटका ३ सय ३६ विद्यालयमध्ये ५९ विद्यालयमा एउटै दरबन्दी छैन । 

बाहिर गएर ट्युसन पढ्नुपर्ने विद्यार्थीको बाध्यता हटाउन केही स्थानीय तहले कोचिङ कक्षाको व्यवस्था गरेका छन् । जुम्लाको हिमा गाउँपालिकाले मंसिर १ गते सबै विद्यालयका प्रधानाध्यापकको भेलामार्फत कालिका मावि बड्की, ज्योति मावि ओदी र राहदेव मावि मोफ्लामा केन्द्र कायम गरेर निःशुल्क कोचिङ पढाउने निर्णय गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत बमबहादुर शाहले बताए ।

‘अब विद्यार्थीलाई सुर्खेत र सदरमुकाम गएर ट्युसन पढ्नुपर्ने बाध्यता टरेको छ, हिउँदे बिदाको सदुपयोग गरेर अहिले कोचिङ कक्षा सञ्चालन भइरहेका छन्,’ उनले भने, ‘जसमा शिक्षकहरूको पारिश्रमिक पालिकाले व्यहोर्नेछ ।’ उनका अनुसार मंसिर १५ देखि पुस १५ गतेसम्म पालिकाले जाडो बिदा दिएको छ । 

शिक्षा विकास निर्देशनालयले गत वर्ष १ सय १० विद्यालयमा गरेको अध्ययनअनुसार शैक्षिक सत्रको अन्त्यसम्ममा मुस्किलले ६० प्रतिशत कोर्ष पूरा हुने गरेको निष्कर्ष निकालेको थियो । हिमाली जिल्लामा जाडो र वर्षे बिदा, दसैंतिहार, खेतीपातीको समय, विद्यार्थीहरू अभिभावकसँगै जडीबुटी टिप्न बाहिर जानेलगायत कारण कोर्ष सक्न मुस्किल हुने गरेको कालिकोटको निगासैनी मावि दशालाकी प्रधानाध्यापक देवकला आचार्यले बताइन् । उनको विद्यालयले अहिले एसइई दिने विद्यार्थीका लागि बिहान ५ बजेदेखि ८ बजेसम्म अंग्रेजी, विज्ञान र गणित विषयको अतिरिक्त कक्षा सञ्चालन गरिरहेको छ । माध्यमिक तहका ३ जना राहत शिक्षक मात्र कार्यरत रहेको विद्यालयमा ३३ जना विद्यार्थीले यस वर्ष एसइई दिँदै छन् । 

शिक्षक तथा भौतिक पूर्वाधार अभाव, समयमै पाठ्यपुस्तक नपुग्नु, विद्यार्थी र शिक्षक नियमित कक्षामा उपस्थित नहुनुलगायत कारण कर्णालीको शैक्षिक गुणस्तर खस्किँदै गइरहेको निमित्त शिक्षा निर्देशक दीपा हमालले बताइन् । कर्णालीबाट गत वर्ष एसइईमा ३५ हजार ६१ परीक्षार्थी सहभागी भएकोमा २० हजार ३ सय ८४ जना अनुत्तीर्ण भए । प्रदेशभरि ७ सय ३० सामुदायिक तथा निजी विद्यालयबाट परीक्षार्थी सहभागी भएकोमा ४६ विद्यालयबाट एक जना विद्यार्थी पनि उत्तीर्ण हुन नसकेको निर्देशनालयको तथ्यांक छ । गत वर्ष ३.६१ देखि ४ जीपीएसम्म ल्याउने विद्यार्थीको संख्या ४ सय २ जना मात्र थियो ।  

गत वर्षको एसइई नतिजामा दैलेखका ८२.६, सुर्खेतका ६६.४, कालिकोटका ६१.६५, डोल्पाका ५७.२, मुगुका ५६.७, हुम्लामा ५३.८१, सल्यानका ५०.८५, जुम्लाका ४०.३१, जाजरकोटका ४४.५७ र रुकुम पश्चिमका ३५.७८ प्रतिशत विद्यार्थी अनुत्तीर्ण भएको निर्देशनालयले जनाएको छ ।

शिक्षा विकास तथा समन्वय इकाई सुर्खेतका शाखा अधिकृत नारायण पौडेलले संघीयतापछि विद्यालय शिक्षाको जिम्मेवारी स्थानीय तहलाई दिँदा सम्हाल्न नसकेको दाबी गर्छन् । ‘बजेट जति स्थानीय तहमै जान्छ, जसबाट पूर्वाधार निर्माण, दरबन्दी मिलान, गुणस्तरीय शिक्षाको मापन र नियमन पनि स्थानीय सरकारले नै गर्नुपर्ने हो,’ उनले भने, उनले भने, ‘तर स्थानीय तहहरूले विद्यालय शिक्षा सुधारको खाका नै निर्माण गर्न सकेनन्, जसले शैक्षिक गुणस्तर भद्रगोल भयो ।’

कृष्णप्रसाद गौतम कान्तिपुरका सुर्खेत संवाददाता हुन् ।

Link copied successfully