जिल्ला प्रहरी कार्यालय जुम्लाको तथ्यांक अनुसार तीन वर्षमा लागुऔषधका ४३ वटा मुद्दा दर्ता भएका छन् ।
What you should know
जुम्ला — पछिल्लो समय जुम्लामा लागुऔषधको सेवन र कारोबार तीव्र रुपमा वृद्धि भएको प्रहरीको तथ्यांकमा देखिन्छ । पछिल्लो तीन वर्षको तथ्यांक हेर्ने हो भने यहाँका युवाहरु लागुऔषधको दलदलमा फस्दै गएका देखिन्छ ।
यहाँका १८ देखि ६० वर्ष उमेर समूहका लागुऔषध सेवन र तस्करीमा संलग्न देखिन्छन् । तर लागुऔषध कहाँबाट भित्रिन्छ, कसले कारोबार गरिरहेको छ? भन्ने कुराको निष्कर्ष प्रहरीले निकाल्न सकेको छैन ।
जिल्ला प्रहरी कार्यालय जुम्लाको तथ्यांक अनुसार तीन वर्षमा लागुऔषधका ४३ वटा मुद्दा दर्ता भएका छन् । जसमा ७१ जनालाई प्रहरी नियन्त्रणमा लिएर अनुसन्धान गरेको छ । २३ जना अझै फरार छन् । वर्सेनि लागुऔषधका सेवनकर्ता र कारोबारी बढ्दे गए पनि नियन्त्रणका लागि प्रहरीसँग स्पष्ट योजना छैन ।
सबैभन्दा धेरै १८ बर्षदेखि ४० वर्ष उमेर समूहका युवाहरु बढी संलग्न रहेको प्रहरीले बताएको छ । १४/१५ वर्षका किशोर किशोरी पनि लागुऔषध सेवन र कारोबारमा संलग्न रहेको प्रहरीको भनाइ छ । ६० वर्ष उमेर समूहका मानिसहरु पनि यस्तो कार्यमा संलग्न रहेको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी रबिनबाबु रेग्मीले जानकारी दिए ।
उनका अनुसार लागुऔषध नियन्त्रण र नियमनका लागि सचेतनामुलक कार्यक्रम सञ्चालनदेखि सेवनकर्तालाई नियन्त्रणमा लिएर अनुसन्धानसमेत भइरहेको छ । आर्थिक बर्ष २०८०/०८१ मा १६ वटा मुद्दा लागुऔषधका दर्ता भए ।
२४ जना पुरुष र २ जना महिलालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गर्यो । ५ जना अझै फरार छन् । आर्थिक वर्ष २०८१/०८२ मा ९३ जना संलग्न रहेको तथ्यांक छ । जसमा २३ वटा मुद्दा दर्ता भएर ४० जना पुरुष एक जना महिला पक्राउ गरेर अनुसन्धान गरेको छ । १२ जना अझै फरार सूचीमा छन् ।
आर्थिक वर्ष २०८२/०८३ को हालसम्म ४ वटा मुद्दा दर्ता भएर अनुसन्धान चलिरहेको छ । ४ जना नियन्त्रणमा छन् । ६ जना फरार सूचीमा छन् । तीन वर्षमा ४३ वटा मुद्दा चलेकामा ९४ जना अनुसन्धानमा छन् । जसमा ६८ जना पुरुष ३ जना महिला पक्राउ परिसकेका छन् । २३ जना फरार सुचीमा छन् ।
१८ वर्ष मुनिका १३ जना, १८ वर्षदेखि ४० वर्षसम्मका ७९ जना र ४० देखि ६० वर्षसम्मका २ जना माथि अनुसन्धान भइरहेको छ । ब्राउन सुगर २१ ग्राम ३३७ मिलिग्राम, चरेश २१४ ग्राम ३३७ मिलिग्राम र ९६ वटा ट्याबलेट बरामद भएको छ । तर यति मात्रमा लागुऔषध कहाँबाट भित्रिन्छ भन्ने कुरा एकिन हुन सकेको छैन ।
