विद्यालय जाने क्रममा लडेर बालकको मृत्यु  

नरहरिनाथ-६ माल्कोटका १४ वर्षीय बालक आयुष विश्वकर्माको घरबाट विद्यालय जानेक्रममा बिहीवार बिहान लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी निरिक्षक गणेश ज्ञवालीले जानकारी दिए।

पुस ३, २०८२

तुलाराम पाण्डे

Child dies after falling on way to school

कालिकोट — कालिकोटको नरहरिनाथ-६ माल्कोटमा घरबाट विद्यालय जाने क्रममा लडेर एक बालकको मृत्यु भएको छ ।

नन्दादेवी मावि सेरापाटामा कक्षा-८ मा पढ्ने १४ वर्षीय बालक आयुष विश्वकर्माको घरबाट विद्यालय जानेक्रममा बिहीवार बिहान लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी निरिक्षक गणेश ज्ञवालीले बताए ।

'घरबाट बिहान साढे ८ बजेतिर विद्यालय जान हिडेका रहेछन्,' घटनास्थल पुगेर फर्किएका प्रहरी निरिक्षक ज्ञवालीले भने, 'बाटोमा चिप्लिएर लड्दा ढुंगामा बजारिएर मृत्यु भएको हो।' 

उनका अनुसार बिहान ९ बजेदेखि १० बजेसम्म ट्युसन पढ्ने र १० बजेदेखि कक्षामा पढ्ने भनेर घरबाट साढे ८ बजे नै हिँडेका विश्वकर्माको एक हातले किताब समातेको र अर्को हात चिसोका कारण खल्तीमा राखेकाले अल्झिएर लडेको हुनसक्ने अनुमान छ।

उनको टाउको र चिउडोमा चोट लागेको छ।

तुलाराम पाण्डे कान्तिपुरका कालिकोट संवाददाता हुन् ।

Link copied successfully