३ हजार ७ सय वर्गमिटरमा फैलिएको गंगाको पंक्षीपालन अहिले जिल्लाकै ठूलो व्यवसायमा पर्छ । वार्षिक १ सय ५० जनाभन्दा बढीलाई उनले रोजगारी दिएकी छन् ।
What you should know
जुम्ला — तातोपानी–४ की गंगा उपाध्याय अहिले पंक्षीपालनमा व्यस्त छिन् । उनी पंक्षीलाई दानापानी दिने र स्याहारसंभारमा बिहानैदेखि खटिन्छिन् । तातोपानी गाउँपालिकाकी पूर्वउपाध्यक्षसमेत रहेकी गंगाको पंक्षी व्यवसाय अहिले आकर्षणको केन्द्र बनेको छ । युट्युब हेरेर पंक्षीपालनको प्रेरणा मिलेको बताउने गंगाले अहिले त्यही व्यवसायले खुसी दिएको सुनाइन् ।
२०७८ मंसिरमा गौतम पंक्षीपालन व्यवसाय थालेकी गंगा अहिले नमुना पंक्षीपालकका रूपमा जिल्लामै कहलिएकी छिन् । उनले हाँस, स्थानीय जातका कुखुरा र कालिज पालेकी छिन् ।
‘गाउँपालिका उपाध्यक्ष छँदै पंक्षीपालन गर्ने सोच बनाएकी थिएँ,’ उनले भनिन्, ‘राजनीति मात्रै गरेर भएन । व्यवसाय अँगालेर राजनीतिमा लाग्दा सहज हुने मेरो अनुभव रह्यो ।’ सुरुमा दियालो बहुद्देश्यीय सहकारी संस्थाबाट ६ लाख रुपैयाँ ऋण झिकेर उनले दाङ जिल्लादेखि २ सय ५० वटा कालिज ल्याइन् । जुम्ला पुर्याउँदासम्म प्रति कालिजको ४ हजार रुपैयाँ पर्न गयो ।
सुरुमा पंक्षीपालनको योजना सुनाउँदा गाउँलेले विश्वास गरेनन् । ‘गाउँपालिका उपाध्यक्ष भइसकेको मान्छेले के पंक्षीपालन गर्लिन् र भने,’ उनले भनिन्, ‘पहिला त्यसो भन्नेहरू पनि अहिले पंक्षीपालनमा भविष्य देखिरहेका छन् ।’
पंक्षीपालनमा सानैदेखि रमाउने बानीले यसतर्फ तानेको उनले सुनाइन् । २०८० सालमा उनीसँग १ हजार २ सय कालिज थिए । बारीमा कालिजको करकर र हिँडडुलले झनै हौसला दियो । ‘पंक्षीपालनमा रहर धेरै थियो तर अनुभव थिएन,’ उनले भनिन्, ‘पंक्षीपालनमा लागेका कैयन् किसानसँग परामर्श गरेँ । झन्झटिलो र धेरै दुःख हुने भन्दै यस पेसामा नलाग्न सुझाव पाएँ । तर पनि मेरो मनले मानेन ।’ कालिज भर्खर र्भखर पालेकाले बजार राम्रो भइसकेको थिएन । बाहिरबाट आउने सस्तोमस्तो बोयलरको मासुले बजार लिइसकेको थियो ।
‘तर, अहिले कालिजको माग अधिक छ,’ उनले भनिन्, ‘मसँग १ सय ४० भन्दा धेरै कालिज छन । ३ सयभन्दा धेरै स्थानीय जातका कुखुरा छन् । ५० भन्दा धेरै हाँस पालेकी छु ।’ अहिले कालिज खरिद गर्न ग्राहकहरू फार्म खोज्दै आइपुग्ने पनि उनले बताइन् । हरेक शुभकार्यमा अहिले कालिज किन्ने होडबाजी नै चलेको छ । ‘यहाँ प्रायः मेरा ग्राहकमा सेना, प्रहरी, कर्मचारी छन्,’ उनले भनिन्, ‘मलाई त कालिज पुर्याउनै धौ धौ छ ।’
पतिका साथ गंगा उपाध्याय
अहिले पोथी कालिजको २ हजार र भाले कालिजको ३ हजार रुपैयाँ मूल्य छ । लोकल कुखुराको मूल्य पनि उस्तै उस्तै छ । पोथीको २ हजारदेखि २ हजार ५ सय रुपैयाँ र भालेको ३ हजारदेखि ३ हजार ५ सय रुपैयाँमा किनबेच भइरहेको छ ।
पंक्षीपालन व्यवसायको अवलोकन गर्न बर्सेनि न्यूनतम १ सय ५० जनाजति आउने गरेको गंगाले सुनाइन् । ‘पंक्षीपालन गर्ने सोच बोकेका किसान मकहाँ धेरै आउँछन् । यहाँबाट कुखुरा र कालिजका चल्ला धेरै बिक्री हुने गरेका छन्,’ उनले भनिन् ।
हालसम्म २ करोडभन्दा धेरै लगानी भइसकेको उनले सुनाइन् । ३ हजार ७ सय वर्गमिटरमा फैलिएको गंगाको पंक्षीपालन अहिले जिल्लाकै ठूलो व्यवसायमा पर्छ । ‘अहिले त पंक्षीमा लाग्ने रोगको पहिचानदेखि निदानसम्मको काम गर्ने भइसकेकी छु,’ उनले भनिन् ।
उत्कृष्ट कृषक पुरस्कारले सम्मानित गंगाको ६ जनाको परिवार छ । जेठी छोरी अमेरिकामा नर्सिङ पढ्छिन् । माइली छोरी नेपालगन्ज र कान्छो छोरा जुम्लास्थित एक निजी विद्यालयमा अध्ययन गरिरहेका छन् ।
वार्षिक १ सय ५० जनाभन्दा बढीलाई रोजगारी दिइरहेकी गंगा २० लाखको हाराहारीमा पंक्षीपालन व्यवसायबाटै कारोबार हुने गरेको बताउँछिन् । ‘पंक्षीलाई दिने दानापानी र औषधिमूलोमा धेरै खर्च छ,’ उनले भनिन्, ‘कामदारमा पनि उत्तिकै खर्च छ । मलाई फाइदा थोरै भए पनि यस पेसामा खुबै रमाएकी छु ।’
