सल्यानमा प्रहरीद्वारा विभिन्नस्थानमा अवैध रूपमा लुकाइराखिएका ३३ थान भरुवा बन्दुक बरामद

जिल्ला प्रहरी कार्यालय सल्यानले विभिन्न नगरपालिका र गाउँपालिकाबाट अवैध रूपमा लुकाइराखिएका ३३ थान भरुवा बन्दुक बरामद गरी सार्वजनिक गरेको छ।

पुस २, २०८२

विप्लव महर्जन

Police seize 33 loaded guns illegally hidden in various locations in Salyan

What you should know

सल्यान — प्रहरीले मंसिर महिनामा सल्यानका विभिन्न स्थानमा अवैध रूपमा स्थानीयले लुकाई छिपाइ राखेका ३३ थान भरुवा बन्दुक बरामद गरेको छ । निर्वाचनका बेला स्थानीयले लुकाइराखेको हतियार प्रयोगमा आउन सक्ने भन्दै विभागले बरामद गर्न परिपत्र गरेपछि खोजतलास अघि बढाइएको प्रहरीले जनाएको छ ।

सोही क्रममा जिल्लाका विभिन्न स्थानमा अवैध रूपमा लुकाई छिपाइ राखिएका ३३ थान भरुवा बन्दुक बरामद गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय सल्यानले बुधबार पत्रकार सम्मेलन गरी बरामद गरिएका भरुवा बन्दुक सार्वजनिक गरेको थियो । गोप्य सूचनाको आधारमा खोजतलास गर्दै जाँदा बन्गाड कुपिन्डे नगरपालिका वडा नं. १०, ११ र १२ बाट १५ थान, त्रिवेणी गाउँपालिका–१ काभ्राबाट १० थान र अन्य पालिकाबाट ८ थान गरी जम्मा ३३ थान भरुवा बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डा. हेमबहादुर केसीले बताए । बरामद गरिएका बन्दुकमध्ये कसैको पनि लाइसेन्स नभएको उनले जानकारी दिए ।

उनका अनुसार खोजतलासका क्रममा स्थानीयले भरुवा बन्दुक कसैले प्रयोग गर्न नमिल्ने पुराना घरमा, कसैले ओरालोमा र कसैले जंगलमा लुकाइराखेको अवस्था फेला परेको थियो । बन्दुक कसको हो भन्ने खुलेको छैन । ती बन्दुक जंगली जनावर सिकार गर्न प्रयोग हुँदै आएको प्रहरीको भनाइ छ ।

भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरिए पनि उनी धरौटीमा छुटिसकेको प्रहरी प्रमुख केसीले जानकारी दिए । जिल्लाका विभिन्न स्थानमा अझै पनि धेरै भरुवा बन्दुक रहेको आशंकामा खोजी कार्य जारी रहेको र बरामद गरिएका बन्दुक प्रदेश कार्यालयमा पठाउने तयारी भइरहेको उनको भनाइ छ ।

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully