राष्ट्रियसभामा अपाङ्गता क्षेत्रबाट रामकृष्ण न्यौपानेको नाममा सर्वसम्मत भए पनि सिफारिस गर्दा उनको नाम काटिएको छ ।
What you should know
जुम्ला — नेपाली कांग्रेस जुम्लाले आगामी फागुन २१ मा तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ चार जनाको नाम सिफारिस गरेको छ । कांग्रेस जिल्ला कार्यसमिति जुम्लाको २५ मंसिरमा सम्पन्न बैठकले प्रत्यक्ष, समानुपातिक र राष्ट्रियसभाका सम्भावित उम्मेदवारको नाम टुंग्याए पनि विवाद बढेकाले केही नाम संशोधन गरी सोमबार मात्रै सिफारिस गरेको हो ।
कांग्रेस जुम्लाका प्रवक्ता मेगराज गिरीका अनुसार प्रत्यक्षतर्फ पहिलो नम्बरमा कांग्रेस जुम्लाका सभापति कर्णबहादुर शाहीको नाम सिफारिस गरेको छ । बैठकमा अधिकांश नेता कार्यकर्ताले सबै तहका निर्वाचनमा एकएक जना सिफारिस गर्न भने पनि सभापति शाहीले एकल सिफारिस गर्न सकेनन् ।
यसैगरी कान्तिका सेजुवाल, पूर्णप्रसाद आचार्य र खड्कबहादुर सेजुवालको नाम सिफारिस गरेको हो । दोस्रो नम्बरमा सिफारिस हुने कान्तिका पूर्वसांसद समेत हुन् । उनी चन्दननाथ नगरपालिकाको पहिलो प्रमुख, कांग्रेसको केन्द्रीय समिति सदस्य हुँदै समानुपातिक तर्फर्को सांसदसमेत रहिसकेका छन् ।
कांग्रेस जुम्लाले समानुपातिकमा १५ जनाको नाम सिफारिस गरेको छ । लामो समय छलफल गर्दा पनि आकांक्षीहरूले दाबी नछोडेपछि सबैको नाम सिफारिस गरिएको कांग्रेसले जनाएको छ । जसमा जनजाति र पिछडिएको क्षेत्रबाट दीनबन्धु श्रेष्ठको नाम सिफारिस भएको छ । उनी पूर्व प्रदेश सांसददेखि कर्णालीका पूर्व जलस्रोतमन्त्री पनि हुन् ।
खस आर्यबाट धनबहादुर बस्नेत, दलितबाट गोरखबहादुर सुनार, दलित महिलाबाट माया नेपाली, महिलाबाट नेत्रकला शाही र नविना केसी बडुवालको नाम सिफारिस भएको छ । सामानुपातिक खुलातर्फ गोविन्दबहादुर शाही, पुरीचन्द्र देवकोटा, लक्ष्मीप्रसाद आचार्य, परेकलाल घर्ती, कर्णजंग हमाल, जयहरि आचार्य, लालबहादुर जीसी र रज्जब अलिमनिहारको नाम सिफारिस भएको छ ।
राष्ट्रियसभातर्फ कांग्रेस जुम्लाले चार जनाको नाम सिफारिस गरेको छ । कर्णाली प्रदेश सभापति एवं पूर्वसांसद ललितजंग शाही, पूर्व वन राज्यमन्त्री भक्तबहादुर रोकाया, भीमनिधि हमाल र सुमन बुढा बस्नेतको नाम सिफारिस भएको छ । अपाङ्गता क्षेत्रबाट रामकृष्ण न्यौपानेको नाममा सर्वसम्मत निर्णय भए पनि सिफारिस गर्दा उनको नाम भने काटिएको छ ।
कांग्रेसले सबै नाम कर्णाली प्रदेश समितिमा पठाइसकेको छ । प्रदेशले केन्द्रीय कार्यालयमा पठाउने व्यवस्था गरेको प्रवक्ता गिरीले जानकारी दिए ।
