२०७८ असार २४ देखि ठेकेदार कम्पनीमार्फत निर्माणको काम सुरु गरेको पालिकाले चार वर्षको अवधिमा अस्पताल संचालनका लागि भवन निर्माणको काम सम्पन्न गरेको हो ।
What you should know
सल्यान — जिल्लाका १० स्थानीय तह मध्ये कपुरकोट गाउँपालिकाले आधारभूत अस्पताल संचालनका लागि भवन निर्माणको काम सम्पन्न गरेको छ ।
२०७८ असार २४ देखि ठेकेदार कम्पनीमार्फत निर्माणको काम सुरु गरेको पालिकाले चार वर्षको अवधिमा अस्पताल संचालनका लागि भवन निर्माणको काम सम्पन्न गरेको हो ।
संघीय सरकारले हरेक पालिकामा ५ देखि १५ शय्याको अस्पताल संचालन गर्न प्रत्येकलाई १८/१८ करोड रुपैयाँ दरले विनियोजन गरेपछि सल्यानका १० स्थानीय तह मध्ये बन्गाड कुपिण्डे नगरपालिका, बाग्चौर नगरपालिका, दार्मा, त्रिबेणी, कालीमाटी, कुमाख, सिद्धकुमाख गाउँपालिकाले २०७६ देखि भवन निर्माणको काम अगाडि बढाएका थिए ।
कालीमाटी र छत्रेश्वरी गाउँपालिकामा अस्पताल भवन निर्माण पछिल्लो समय अलपत्र परेको छ । अन्य पालिकामा निर्माणको काम बजेट अभाव र ठेकेदारको लापरवाहीका कारण ढिलासुस्ती भइरहेको छ ।
कपुरकोट गाउँपालिकाले अस्पताल भवन निर्माणको लागि ११ करोड ९६ लाख २५ हजार लागतमा पिएस रोयल जेभी निर्माण सेवालाई ठेक्का दिएकाे थियो ।
चार तले भवन तीन वर्षमा सम्पन्न गर्नुपर्नेमा संघीय सरकारले पछिल्लो समयमा बजेट उपलब्ध गराउन नसक्दा पालिकाले ५७ लाख रुपैयाँसहित ६ महिना निर्माणको म्याद थपेपछि भवन निर्माणको काम सम्पन्न भएको कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गाबहादुर पुनले बताए । पालिकाले दुई वर्षदेखि स्वास्थ्य चौकीको भवन प्रयोग गरेर पाँच शय्याको अस्पताल संचालन गर्दै आएकोमा नयाँ भवनमा अस्पताल सार्ने तयारी गरिरहेको उनले जानकारी दिए ।
उनका अनुसार स्वास्थ्य चौकीको भवनमा डाक्टर तथा स्वास्थ्यकर्मी साँघुरो कोठामा बसेर सेवा दिन बाध्य थिए । ‘नयाँ भवन बनेपछि अब पहिलाको जस्तो समस्या हुँदैन । अस्पताल सार्नका लागि अहिले आवश्यक सामग्रीको व्यवस्थापन भइरहेको छ,’ उनले भने ।
निर्माण कम्पनीका ठेकेदार जिमज्याङ राईले तोकेको समयमा निर्माण सम्पन्न भएको अस्पताल भवन हस्तान्तरण गर्ने तयारी भइरहेको बताए । सरकारले पर्याप्त बजेट उपलब्ध गराउन नसक्दा भवन निर्माणमा केही समस्या भएको उनले बताए ।
