चार दिनको निरन्तर छलफलपछि पनि उम्मेदवार छनोट गर्न नसकेको कांग्रेस जुम्लाका प्रवक्ता मेघराज गिरी*ले जानकारी दिए ।
What you should know
जुम्ला — आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि उम्मेदवार छनोट गर्न मंसिर २४ गतेदेखि निरन्तर बैठक बसे पनि जुम्ला कांग्रेसले छनोट गर्न सकेको छैन ।
चार दिनको निरन्तर छलफलपछि पनि उम्मेदवार छनोट गर्न नसकेको कांग्रेस जुम्लाका प्रवक्ता मेघराज गिरी*ले जानकारी दिए । ‘सामान्य छलफल धेरै भइसक्यो तर आधिकारिक निर्णय भएर सिफारीस गर्नेसम्मको निर्णय हुन सकिरहेको छैन,’ प्रवक्ता देवकाटाले भने, ‘अन्तिम टुंगो लगाउने प्रयास भइरहेको छ ।’
प्रत्यक्षतर्फको उम्मेदवारमा ७ जनाले दाबी गरेकोमा तीन जनामा झरेको छ । अहिले पूर्व सांसद कान्तिका सेजुवाल, कांग्रेस सभापति कर्णबहादुर शाही र पूर्व उपसभापति खड्कबहादुर सेजुवालको नाममा छलफल चलिरहेको छ । प्रत्यक्षमा पनि उम्मेदवार घटाउने विषयमा छलफल भइरहेको प्रवक्ता गिरीले बताए ।
उनका अनुसार समानुपातिकमा सबैभन्दा धेरै १५ जनाले दाबी गरेका छन् । समानुपातिकमा धनबहादुर बस्नेतको नाम मात्र सिफारिस हुनुपर्ने संस्थापन इतर पक्षको अडान कायमै छ । समानुपातिकमा धेरै आंकाक्षी भएकोले उम्मेदवार छनोटमा सकस भएको बताइएको हो ।
राष्ट्रियसभामा पूर्वराज्यमन्त्री भक्तबहादुर रोकाया र कांग्रेस कर्णाली प्रदेश सभापति ललितजंग शाहीको नाम सिफारीस गर्ने तयारी भए पनि अन्य एकजनाको नाम मात्रै सिफारिस गर्नुपर्नेमा जोड दिइएको छ । संस्थापन इतर पक्षले भक्तबहादुर रोकायाको एकल नाम सिफारीस गर्नुपर्ने अडान कायमै राखेको छ ।
मंसिर २४ गते पहिलो दिन आकांक्षीहरुको लिस्ट तयार गर्ने काम भएको थियो । मंसिर २५ गते बैठकमा उपस्थित अधिकांश नेता कार्यकर्ताले प्रतिनिधिसभामा सभापति कर्णबहादुर शाही, राष्ट्रिय सभामा भक्तबहादुर रोकाया र समानुपातिकमा धनबहादुर बस्नेतको नाम एकल सिफारिस गर्नुपर्ने भन्दै हात उठाएका थिए । तर नेताहरुबीचमै कुरो नमिल्दा अहिलेसम्म नाम सिफारिस गर्न नसकिएको कांग्रेस जुम्लाले जनाएको छ ।
अधिकांश कांग्रेस नेता कार्यकर्ता सभापति कर्णबहादुर शाहीको नाम एकल सिफारिस गर्नुपर्ने पक्षमा छन् । तर समानुपातिक र राष्ट्रिय सभामा उम्मेदावर टुंगो नलाग्दा प्रत्यक्षमा पनि त्यसको असर परिरहेको छ ।
आगामी निर्वाचनका लागि पूर्वसांसद कान्तिका सेजुवाल पनि जुम्लामा कांग्रेसको बलियो उम्मेदवार हुन सक्ने आकलन भइरहेको छ । उनी चन्दननाथ नगरप्रमुखमा नेपालकै पहिलो निर्वाचित महिला मेयर हुन् । समानुपातिक सांसद भए पनि एकपटक प्रत्यक्ष रुपमा चुनाव लड्ने धोको सुनाउँदै नेता कार्यकर्ता रिजाउने कार्यमा अग्रसर देखिन्छन् ।
प्रवक्ता गिरीले जे जस्तो परिदृश्य देखिए पनि आइतबार आपसी समझदारीका आधारमा उम्मेदवार छनोट गरेर सिफारिस गर्ने तयारी भइरहेको जानकारी दिए ।
