यही मंसिर २५ गतेको बैठकले उम्मेदवार छनौटको निर्णय गरेर कर्णाली प्रदेश कार्यसमिति हुँदै केन्द्रीय कार्यालय सानेपामा सिफारिस गरेर पठाइएको पार्टी जिल्ला सभापति मोहनबिक्रम सिंहले जानकारी दिए ।
What you should know
जुम्ला — कांग्रेस हुम्लाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ तीन जना उम्मेदवारको नाम सिफारिस गरेको छ । बैठकले माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागिसमेत उम्मेदवार सिफारिस गरेको हो ।
यही मंसिर २५ गतेको बैठकले उम्मेदवार छनौटको निर्णय गरेर कर्णाली प्रदेश कार्यसमिति हुँदै केन्द्रीय कार्यालय सानेपामा सिफारिस गरेर पठाइएको पार्टी जिल्ला सभापति मोहनबिक्रम सिंहले जानकारी दिए । उनका अनुसार प्रत्यक्षतर्फको उम्मेदवारमा कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही, जयपति रावल र रीता शाहीको नाम सिफारिस गरेको छ ।
कांग्रेसले बहालवाला जनप्रतिनिधिलाई उम्मेदवारको रुपमा सिफारिस नगर्ने निर्देशन गरेको भए पनि पार्टी जिल्ला समिति, भ्रातृसंगठनहरु, महासमिति सदस्य, केन्द्रीय तथा प्रदेश महाधिवेशन प्रतिनिधि, जिल्ला कार्यसमितिका पूर्वपदाधिकारी, जनप्रतिनिधि, क्षेत्रीय कार्यसमिति र सात गाउँपालिकाका ४४ वटै वडा इकाइ समितिले जीवनबहादुर शाहीको नाम सिफारिस गर्नुपर्नेमा जोड दिएका थिए । नेता कार्यकर्ताहरुको सामूहिक भावना र आग्रहअनुसार कर्णाली प्रदेशसभा सदस्यसमेत रहेका शाहीको नाम उम्मेदवारका रुपमा सिफारिस गरिएको हो ।
कांग्रेस हुम्लाले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकमा बलबहादुर लामा, ताराबहादुर लामा र रम्बा शाहीको नाम सिफारिस गर्यो । समानुपातिक उम्मेदवार छनौट गर्दा समावेशिता, क्षेत्रीय सन्तुलन र पार्टीगत योगदानलाई प्राथमिकतामा राखेको सभापति सिंहले बताए ।
राष्ट्रिय सभा सदस्यमा खुलातर्फ पदमबहादुर लामाको नाम एकल रुपमा सिफारिस गरिएको हो । महिलातर्फ रंगमति शाही र सबिता बुढाको नाम सिफारिस भएको हो ।
पार्टी सभापति सिंहका अनुसार उम्मेदवार छनौट प्रक्रिया पार्टी विधान, संसदीय बोर्डको निर्णय तथा स्थानीयतहको पार्टी संरचनाबाट प्राप्त सुझावका आधारमा अघि बढाइएको थियो ।
