प्रतिनिधिसभा निर्वाचनका लागि दुई पक्षले छुट्टाछुट्टै उम्मेदवार सिफारिस पठाएपछि विवाद चर्किएको छ।
What you should know
कालीकोट — कालीकोट कांग्रेसबाट फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि दुई पक्षले दुई सिफारिस केन्द्रमा पठाएपछि विवाद भएको छ ।
संस्थापन पक्षका पार्टी सभापति अम्बहादुर शाहीको हस्ताक्षरमा भुपेन्द्रजंग शाहीसहित ३ जनाको नाम सिफारिस गरेकामा आपत्ति जनाउँदै गगन थापा पक्षका नेताहरु पूर्वपार्टी सभापति हर्षवहादुर बम, महासमिति सदस्य नारायणप्रसाद भट्टराईसहितले शनिबार छुट्टै सिफारिस पठाएका छन् ।
जिल्ला सभापतिले शुक्रबार हस्ताक्षर गरेर केन्द्रीय सभापति शेरबहादुर देउवालाई पठाइएको सूचीअनुसार प्रतिनिधिसभा प्रत्यक्षतर्फ भूपेन्द्र, पार्टी सभापति आफै र महिला नेतृ सीता रावलको नाम छ । समानुपातिकतर्फ कालीबहादुर सहकारी (खस आर्य), सुशीला शाही बम (महिला) र मनबहादुर नेपाली (दलित) तथा माघमा हुने राष्ट्रिय सभाका लागि टेकराज शाही र यहोदा शाही सिफारिस भएका छन् । यी नाममा असहमति जनाउँदै वरिष्ठ उपसभापति मीनबहादुर बोगटीले ५ जना प्रत्यक्ष, ५ समानुपातिक र २ जना राष्ट्रिय सभा गरी १२ जनाको नाम सिफारिस गरेका हुन् ।
मंसिर २४ देखि सुरु कांग्रेस भेलामा आकांक्षी धेरै भएपछि सहमतिको प्रयास गर्ने भन्दै संस्थापन पक्षले बैठक पुस्तिका लुकाएर एकलौटी निर्णय गरेको उपसभापति बोगटीको आरोप छ । बोगटी समूहबाट प्रत्यक्षतर्फ हर्षबहादुर बम, नारायणप्रसाद भट्टई, दमनराज बम, केशरजंग बम र जीवन सुवेदी प्रत्यक्षमा सिफारिस भएका छन् भने समानुपातिकतर्फ कर्णाली प्रदेश उपसभापति तथा पूर्व सभापति कालीबहादुर सहकारी, पूर्वसभापति मुक्तिप्रसाद न्यौपाने, भावनाकुमारी शाही, छाया सुनार र भरत विक छन् । राष्ट्रिय सभाका लागि विष्णुबहादुर शाही र दानबहादुर बमलाई सिफारिस गरिएको छ ।
पूर्वसभापति हर्षबहादुर बमले पत्रकार सम्मेलनमा भने, 'कांग्रेसलाई कमजोर बनाउने षड्यन्त्र पार्टी सभापतिबाटै भयो । पार्टी बैठकमा आफू आकांक्षी नभएको बताएका सभापतिले सिफारिसमा भने आफ्नो नाम घुसाएर पठाएका छन् ।'
दुवै पक्षबाट पूर्वजिल्ला सभापति तथा कर्णाली प्रदेश उपसभापति कालीबहादुर सहकारीको नाम सिफारिसमा परेकाले उनी नै प्रत्यक्षतर्फका साझा उम्मेदवार भए आफूलाई मान्य हुने महासमिति सदस्य दानबहादुर बमले सुनाए ।
पाटी सभापतिले विधि, पद्धति मिचेर किर्ते हस्ताक्षर गरेर नाम सिफारिस गरेको जनाउँदै असन्तुष्ट पक्षका नेता नारायाण भट्टराईले केही व्यक्तिको पार्टीमा मनपरी मान्य नहुने तर्क गरे ।
पार्टी सभापति अम्बवहादुर शाहीले असन्तुष्ट पक्षले लगाएको आरोप निराधार भएको दाबी गरे । 'बहुमत सदस्यले सिफारिस गरेको हो,' उनले भने, 'केन्द्रको निर्देशनअनुसार ३/३ जना सिफारिस गरेका हौं । असन्तुष्ट पक्षको मागअनुसार सबैका नाम राखेर पठाउन सम्भव नभएकाले एकपक्षीय भयो भन्ने आरोप मात्र हो । त्यसमा सत्यता छैन ।'
फोटो क्याप्सन्
१ पाटीृ संस्थापन पक्षले एकपक्षीय उम्मेदवार सिफारिस गरेको विरोधमा असन्तुष्ट पक्षका नेताहरु पत्रकार सममेलनमा । तस्विर ः तुलाराम पाण्डेÖकान्तिपुर
