कालिकोट कांग्रेसबाट शाहीसहित तीन जना सिफारिस  

प्रतिनिधिसभा प्रत्यक्षतर्फ युवा नेता भूपेन्द्र, पार्टी सभापति अम्बबहादुर शाही, महिला नेता सीता रावल छन् ।

मंसिर २७, २०८२

तुलाराम पाण्डे

Three people, including Shahi, recommended by Kalikot Congress

कालिकोट — आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कालिकोट कांग्रेसले युवा नेता भूपेन्द्रजंग शाहीसहित ३ जनाको नाम सिफारिस गरिएको छ । 

जिल्ला कार्यसम्पादन समितिको बैठकबाट ३ जनाको नाम सिफारिस गरिएको पार्टी सचिव मातृका सिंहले बताए । 'आकांक्षी त धेरै थिए,' उनले भने, 'युवा नेता भूपेन्द्रजंग शाहीसहित ३ जनालाई सिफारिस गरेर केन्द्रमा नाम पठायौ ।'

सभापति शेरबहादुर देउवालाई पठाइएको लिस्टअनुसार प्रतिनिधिसभा प्रत्यक्षतर्फ युवा नेता भूपेन्द्र, पार्टी सभापति अम्बबहादुर शाही, महिला नेता सीता रावल छन् । 

यस्तै प्रतिनिधिसभा समानुपातिकतर्फ कालीबहादुर सहकारी (खस-आर्य), सुशीला शाही बम (महिला) र मनबहादुर नेपाली (दलित) सिफारिस भएका छन् । 

त्यस्तै, माघमा हुने राष्ट्रियसभा सदस्यका लागि टेकराज शाही र यशोदा शाहीलाई सिफारिस गरिएको छ । 

संविधानसभाको दोस्रो निर्वाचन २०७० र ०७४ मा उम्मेदवार बनेर लोकप्रिय मत पाएका शाही ०७४ मा बाम गठबन्धनका उम्मेदवारसँग पराजित भए । नेविसंघ जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य हुँदै उपसभापति बनेका शाही तरुण दलको महामन्त्री बनिसकेका छन् । 

उम्मेदवारी सिफारिसमा युवा नेता नारायण भझ्राई, पूर्वपार्टी सभापनि हर्षबहादुर बमलगायतले भने असहमति जनाएका छन् । 'लिखितरुपमै असहमति राखेका छौं,' भट्टराईले कान्तिपुरसँग भने, 'एकपक्षीय सिफारिस भयो ।' 

तुलाराम पाण्डे पाण्डे कान्तिपुरका कालिकोट संवाददाता हुन् ।

Link copied successfully