कुमाखमा आँखा शिविरबाट एक हजार लाभान्वित

शिविरमा १ सय ४ जनाको मोतियाविन्दुको शल्यक्रिया भएको छ ।

मंसिर २७, २०८२

विप्लव महर्जन

One thousand benefit from eye camp in Kumakh

What you should know

सल्यान — कुमाख गाउँपालिकामा लगातार एक सातासम्म सञ्चालित आँखा शिविरबाट पालिकाभरिका १ हजार १ सय २४ जना लाभान्वित भएका छन् । शिविरमा १ सय ४ जनाको मोतियाविन्दुको शल्यक्रिया भएको छ ।

कुमाख गाउँपालिकाको आयोजना र रुईट फाउन्डेसन तथा नेपाल रेडक्रस सोसाइटी सुर्खेतको प्राविधिक सहयोगमा सञ्चालित आँखा शिविरबाट १ हजार १ सय २४ जना लाभान्वित भएका हुन् भने १ सय ४ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको हो ।

विगतमा आँखाको सामान्य उपचारका लागि नेपालगन्ज तथा दाङ जान बाध्य हुँदै आएका पालिकाबासीलाई गाउँमै सञ्चालित शिविरबाट धेरै राहत भएको छ । आर्थिक अभावका कारण उपचार गराउन नसकी अन्धकारमा बस्न बाध्य भएका वृद्धवृद्धाले समेत निःशुल्क घर नजिकै शल्यक्रिया गर्न पाएका छन् । घर नजिकै उपचार गर्न पाएपछि स्थानीय खुसी भएका छन् ।

नजिकै अस्पताल नभएका कारण पालिकाबासीलाई आँखाको सामान्य उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यताको अन्त्य गर्न निःशुल्क आँखा शिविर सञ्चालन गरिएको कुमाख गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मानसिंह वलीले बताए । सुरुवातमा मंसिर १४ देखि १९ गतेसम्म पालिकाका ६ स्थानमा शिविर सञ्चालन गरेर बिरामीको आँखा जाँच गरी मोतियाविन्दुको पहिचान गरिएको र २२ देखि २५ गतेसम्म पालिकाद्वारा सञ्चालित सहिद स्मृति अस्पताल सेराडाँडामा १ सय ४ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको उनले जानकारी गराए । उनका अनुसार शिविरमा १ सय ९४ जनालाई निःशुल्क चस्मा वितरण गरिएको थियो ।

पालिकाले शिविर सञ्चालन गरेपछि उपचारका लागि बाहिर जान नपरेको र घर नजिकै निःशुल्क शल्यक्रिया गराउन पाएपछि धेरै खुसी लागेको मोतियाविन्दुबाट केही महिना अघिदेखि प्रभावित भएका वृद्ध नन्दबहादुर खडकाले बताए । पालिकाले वर्षमा एक पटक शिविर सञ्चालन गर्नेभन्दा पालिकाले सञ्चालन गरेको अस्पतालमा आँखा परीक्षण सेवा सञ्चालन गर्न माग राखेका छन् ।

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully