कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा एमएस जनरल सर्जरीको पाठ्यक्रम तयार

शिक्षाध्यक्ष डा. डबलबहादुर धामीले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा विषयविज्ञहरू सम्मिलित गोष्ठी आयोजना गरेर पाठ्यक्रम तयार भइसकेको जानकारी दिएका हुन् ।

मंसिर २७, २०८२

डीबी बुढा

Karnali Institute of Health Sciences prepares MS General Surgery curriculum

What you should know

जुम्ला — कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले एमएस जनरल सर्जरी विषयको पाठ्यक्रम तयार पारेको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा पाठ्यक्रम विकास गोष्ठीको आयोजना गरेर पाठ्यक्रमलाई अन्तिम रूप दिइएको जनाइएको हो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले यसपटकदेखि लागू हुने गरी एक सिटका लागि एमएस जनरल सर्जरी विषयको अध्यापन सुरु गरेको छ । 

शिक्षाध्यक्ष डा. डबलबहादुर धामीले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा विषयविज्ञहरू सम्मिलित गोष्ठी आयोजना गरेर पाठ्यक्रम तयार भइसकेको शुक्रबार जानकारी दिएका हुन् । 

उनका अनुसार बाह्य विज्ञका रूपमा प्रा.डा. शैलेश अधिकारी, प्रा.डा. सूर्यमान मेन्याङ्बो, डा. गणेश थापा, डा. विनोदकुमार कर्ण, डा. निरोज बनेपालीलाई आमन्त्रण गरिएको थियो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रदेश अस्पताल सुर्खेतका विज्ञ सर्जनहरूसमेत गोष्ठीमा सहभागी थिए । अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य शिक्षा हासिल गर्न विद्यार्थी आइरिने गरेका छन् । 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका उपकुलपति डा. पुजनकुमार रोकायाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली प्रदेश अस्पतालको सहकार्यमा कर्णालीको स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा र अनुसन्धानले थप उचाइ हासिल गर्ने प्रतिक्रिया दिए । 

कर्णालीका दुईवटा ठूला सेवा प्रदायक निकाय छन् । उनीहरूबीच आपसी समझदारी गरेमा सबैले परिकल्पना गरेको समृद्ध कर्णाली निर्माण गर्न कठिनाइ नभएको उनको भनाइ छ । उनका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले स्त्रीरोग विषयमा एमडी अध्यापन गर्न पाउने थप अनुमतिसमेत पाएको छ । 

अहिले कर्णाली प्रतिष्ठानमा बाल रोग, हाडजोर्नी, जनरल प्राक्टिस, एनेस्थेसिया, जनरल सर्जरी, स्त्रीरोग, जनस्वास्थ्य र फार्मेसीमा स्नातकोत्तर तहमा अध्यापन भइरहेको छ । 

शिक्षाध्यक्ष डबलबहादुर धामीले पाठ्यक्रमले शल्य–चिकित्सामा आवश्यक ज्ञान, सीप र व्यवहार समेट्ने, अनुसन्धान, नीतिशास्त्रलाई समेत समेटेको बताए । यो पाठ्यक्रमले कर्णालीजस्तो चुनौतीपूर्ण भौगोलिक क्षेत्रमा सेवा अध्ययनलाई बलियो बनाउने उनको भनाइ छ ।

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully