मेलामा औषधिय गुण भएका जडीबुटीदेखि रैथानेबालीबाट बनेका विभिन्न परिकारको प्रदर्शनी गरिएको हो ।
What you should know
जुम्ला — जुम्लामा उत्पादन हुने अर्गानिक रैथानेबालीबाट बन्ने परिकार र यसको महत्वका बिषयमा उजागार गर्न कृषि जैविक विविधता र खाद्य परिकार प्रदर्शनी मेला आयोजना गरिएको छ ।
मेलामा औषधिय गुण भएका जडीबुटीदेखि रैथानेबालीबाट बनेका विभिन्न परिकारको प्रदर्शनी गरिएको हो ।
शनिबार जिल्ला समन्वय समिति प्रमुख गौरीनन्द आचार्यले फापरको सेल रोटी हालेर प्रदर्शनी मेला सुरुवात भएको घोषणा गरे । उनले भने, ‘रैथानेबाली अहिले लोप हुने अवस्थामा छ । बाहिरबाट आउने विषादी मिसावट भएको खाद्यन्न खाइरहेका छौं । यो प्रदर्शनी किसानलाई रैथानेबालीको उत्पादन गर्न हौसला दिने विश्वास छ ।’
किसानले उत्पादन गर्ने, स्थानीय सरकारले बजार खोज्ने र व्यापारीले बजारमा लैजाने वातावरण सिर्जना गर्न प्रदर्शनीले महत्वपूर्ण योगदान पुर्याउने उनले बताए ।
चन्दननाथ नगरपालिकाको आयोजनामा यहाँ उत्पादन हुने पोषिला रैथाने अर्गानिक बस्तुको उत्पादन, संरक्षण, प्रवर्द्धन र बजारीकरणका लागि मेलाको आयोजना गरिएको हो ।
सडक नाटक र देउडा खेलेर बालीको महत्व र पोषण अवस्थाको बारे सन्देश फैलाउने गरेकोमा यो पटक परिकारको प्रदर्शनी मेला गरेर स्वाद समेत चखाउने काम भइरहेको चन्दननाथ नगरपालिका कृषि विकास शाखा प्रमुख शरद पोखरेलले बताए । उनले भने, ‘यहाँ पोषिला खाद्य बस्तुहरु तनाम छन् । हामीले उत्पादन गरेका खाद्य बस्तु बाहिर पठाएर आयतित खाद्यान्न प्रयोग गरिरहेका छौं । अब आफैले उत्पादन गरेको परिकार खाने र बचेको बाहिर पठाउने सन्देश छर्न पनि मेलाको आयोजना गरिएको हो ।’
प्रदर्शनी मेलामा १२ वटा स्टलमा स्थानीय बालीका बीऊ र खानाका परिकार राखिएको छ । फापरको रोटी, फापरको सेल, केक, कोदोको रोटी, कागुनोको खिर पनि राखिएको छ । ओखर, स्याउ, आलुबाट बनेका परिकार पनि प्रदर्शनीमा राखिएको छ ।
पछिल्लो समयमा लोप भइरहका बालीको बीऊ समेत प्रदर्शनीमा राखिएको छ । यो मेलाले किसान, उपभोक्ता र सरोकारवाला बीचको समन्वयलाई अझै बलियो बनाउने विश्वास गरिएको छ । सबैभन्दा महंगो र अधिक माग भएको मार्सी चामलदेखि सिमी र जिल्लाभर उत्पादन भइरहेका बालीबाट बनेका परिकार आकर्षणको केन्द्र बनेका छन् ।
उद्योग वाणिज्य संघ जुम्लाका उपाध्यक्ष बालकृष्ण बुढाले रैथाने खाद्य परिकार बजारमा पुर्याउन गुणस्तरीय उत्पादन र प्याकेजिङ र ब्रान्डिङ गर्न आवश्यक रहेको बताए । ‘अहिले निर्यात त भइरहेको छ । तर गुणस्तरको छैन । आफ्नो उत्पादनलाई हेला गर्ने र बाहिरको उत्पादनलाई बढावा दिने काम निरुत्साहित गर्न पनि यो मेला प्रभावकारी हुनेछ ।’
मेलामा तातोपानी, पातारासी र चन्दननाथ नगरपालिकाभित्रका किसानले भाग लिएका छन् । प्रदर्शनीमा सडक नाटकदेखि देउडा खेलेर रैथानेबालीको संरक्षणमा जोड दिनुपर्ने किसानहरुले माग गरेका छन् ।
