मानवअधिकार संरक्षण र प्रवर्द्धनमा सबैको हातेमालो आवश्यक : सभामुख गुरुङ

अधिकारका सवालमा कुनै व्यक्तिको पीडा, अन्याय वा विभेद राज्यका लागि पनि चुनौती रहेको भन्दै सभामुख गुरुङले तीनवटै तहका सरकार र सरोकारवाला निकायको थप ध्यान जानुपर्ने उल्लेख गरिन् ।

मंसिर २५, २०८२

ज्योति कटुवाल

Everyone's cooperation is necessary in protecting and promoting human rights: Speaker Gurung

What you should know

सुर्खेत — कर्णाली प्रदेशका सभामुख नन्दा गुरुङले मानवअधिकार संरक्षण र प्रवर्द्धनमा सबैको हातेमालो आवश्यक रहेको बताएकी छन् । 

मानव अधिकारका लागि महिला एकल महिला, समूह कर्णाली प्रदेशले बिहीबार वीरेन्द्रनगरमा आयोजना गरेको लोकतन्त्र र मानवअधिकार, कानुनको शासन र अन्तरपुस्ता न्यायको समर्थन विषयक अन्तरक्रियामा उनले मानवअधिकारको संरक्षण र प्रवर्द्धनका लागि आवश्यक नीति, कानुन तथा संस्थागत सुधारमा सबैको हातेमालो जरुरी रहेको बताइन्  । 

‘जुनसुकै क्रियाकलाप गर्दा हामी मानवअधिकारप्रति संवेदनशील बन्नुपर्ने र मानवअधिकारलाई केन्द्रमा राख्नुपर्ने हुन्छ,' उनले भनिन्, ‘मानवअधिकारको संरक्षण र प्रवर्द्धन गर्नु राज्यको दायित्व भए पनि हरेक व्यक्ति, नागरिक समाज र घरपरिवार मानवअधिकारका सवालमा जिम्मेवार बन्नुपर्छ । हामीले आ–आफ्नो सकारात्मक भूमिका र जिम्मेवारीलाई बहन गर्न सक्यौं भनेमात्र मानव अधिकारको संरक्षण र प्रवर्द्धनमा सहयोग पुग्छ ।’

अधिकारका सवालमा कुनै व्यक्तिको पीडा, अन्याय वा विभेद राज्यका लागि पनि चुनौती रहेको भन्दै उनले तीनवटै तहका सरकार र सरोकारवाला निकायको थप ध्यान जानुपर्ने उल्लेख गरिन् । संघ, प्रदेश र स्थानीय तहमा कानुनी राज्य, सुशासन र सेवा प्रवाहलाई अझै प्रभावकारी बनाउन आवश्यक रहेकोमा पनि उनको जोड छ । 

समाज निर्माणमा एकल महिलाहरुको भूमिका महत्वपूर्ण रहेको सामाजिक विकासममन्त्री घनश्याम भण्डारीले बताए । ‘पितृसत्तात्मक नेपाली समाजमा एकल महिलाहरुले भोग्नुपरेको दुःखलाई स्मरण गराउँदै विगतको तुलनामा सुधारोन्मुख भइरहेको छ,' उनले भने, 'एकल महिलाहरुलाई दयाभावले भन्दा पनि अधिकारका हिसाबले शक्तिशाली बनाउनु पर्छ । यसका लागि सरकारी नीति योजनाहरु बनाउन आवश्यक छ ।’

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully