प्रदेशमा यसअघि १० लाख ६ हजार ८ सय ३४ मतदाता भएका प्रदेश निर्वाचन अधिकारी लालबहादुर गुरुङले जानकारी दिए ।
वीरेन्द्रनगर — आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनका लागि कर्णाली प्रदेशमा २६ हजार नयाँ मतदाता थपिएका छन् ।
निर्वाचन घोषणापछि निर्वाचन आयोगले मतदाता नामावली दर्ता र अद्यावधिक लागि खोलेको समयमा २६ हजार ६ सय ३५ मतदाता थपिएका हुन् ।
प्रदेशमा यसअघि १० लाख ६ हजार ८ सय ३४ मतदाता भएका प्रदेश निर्वाचन अधिकारी लालबहादुर गुरुङले जानकारी दिए ।
उनका अनुसार नयाँ थपिएका मतदाता विवरण सार्वजनि गरिसकिएको छ । यो पटक अनलाइनबाट मतदाता नामावलीमा नाम दर्ता गर्नेको संख्या बढेको छ । फोटा र औंठाछापसहित राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा आयोगले अनलाइनबाट नाम दर्ता गराउने व्यवस्था आयोगले मिलाएको थियो ।
कर्णालीमा १७ देखी २५ वर्ष उमेर समूहका ८० प्रतिशत बढीले मतदाताका लागि आवेदन दिएका छन् । प्रदेश निर्वाचन कार्यालयका अनुसार सुर्खेतमा ७ हजार ३ सय ६२ नयाँ मतदाता थपिएका छन् । दैलेखमा ३ हजार ६ सय २६ थपिएकोमा रुकुमपश्चिममा २ हजार ८ सय ४० थपिए ।
यस्तै डोल्पामा १ हजार ७ , जुम्लामा ३ हजार ३६ , मुगुमा ७ सय ७४ र हुम्लामा ८ सय २४ मतदाता थपिएका छन् । कालिकोटमा १७ सय ७६ नयाँ मतदाता थपिएका छन् । यस्तै जाजरकोट २ हजार २ सय १० जना मतदाता थपिएका छन् भने सल्यानमा ३ हजार १ सय ८० मतदाता थपिएका छन् ।
