प्रतिनिधिसभा सदस्य समानुपातिक उम्मेदवारका लागि कांग्रेस डाेल्पाले ३ जनाकाे नाम सिफारिस गरेकाे छ ।
डोल्पा — नेपाली कांग्रेस डाेल्पाले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेकाे छ ।
जिल्ला कार्यसमितिकाे बैठकले २१ फागुनमा ताेकिएकाे निर्वाचनका लागि केन्द्रीय सदस्य कर्णबहादुर बुढाकाे नाम सिफारिस गरेको हो । केन्द्रीय समितिकाे परिपत्रअनुसार प्रतिनिधिसभा, राष्ट्रिय सभा र समानुपातिक निर्वाचन प्रणालीमा भाग लिने उम्मेदवारकाे नाम सिफारिस गरिएको जिल्ला कार्य समितिका सचिव हिक्मतबहादुर शाहीले जानकारी दिए।
उनका अनुसार प्रतिनिधिसभा सदस्य समानुपातिक उम्मेदवारका लागि कांग्रेस डाेल्पाले ३ जनाकाे नाम सिफारिस गरेकाे छ ।निवर्तमान पार्टी सभापति टंकप्रसाद उपाध्याय, जयकुमारी शाही र रमादेवी न्याैपानेलाई प्रतिनिधिसभा समानुपातिक उम्मेदवारका लागि नाम सिफारिस गरेकाे छ ।
आगामी माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि पनि डाेल्पाबाट ३ जनाकाे नाम सिफारिस गरिएको छ । राष्ट्रिय सभा सदस्यका लागि दूधकुमारी हमाल, राजिमान सार्की र जुना मिजारलाई सिफारिस गरिएको हो ।
प्रतिनिधिसभाका लागि सिफारिस बुढा निवर्तमान प्रतिनिधिसभा सदस्य धनबहादुर बुढाका जेठा दाइ हुन् । लगातार तीनपटक भारी बहुमतले डाेल्पाबाट प्रतिनिधिसभामा निर्वाचित धनबहादुर नेपाली कम्युनिस्ट पार्टीका नेतासमेत हुन् । पूर्वमन्त्री समेत रहेका उनी डाेल्पाबाट नेपाली कम्युनिस्ट पार्टीबाट चुनाव लड्ने पक्का जस्तै छ । यदि दुवैले टिकट पाए घरभित्रकै दुई भाइबीच कडा चुनावी प्रतिस्पर्धा हुने देखिन्छ ।
