कालीमाटी गाउँपालिकाले पाँच वर्षमा सात वडाका १,०७४ विपन्न परिवारको घरमा खरको छाना हटाएर कर्कटपाता राखेको छ।
What you should know
सल्यान — कालीमाटी गाउँपालिका–१ का टेकबहादुर नेपाली आर्थिक अवस्था कमजोर भएपछि खरको छाना भएको घरमै विगतदेखि गुजारा गर्दै आएका थिए। बर्सातको समयमा पानी चुहिने हुँदा उनलाई धेरै समस्या हुने गर्थ्यो भने गर्मीको समयमा वनमा डढेलो लागेमा घर छाडेर सुरक्षित स्थानमा जान बाध्य हुन्थे।
कालीमाटी गाउँपालिकाले दुई वर्षअघि कर्कटपाता उपलब्ध गराएपछि बर्सातमा पानी चुहिने र गर्मीको समयमा वनमा लागेको डढेलोले घर जल्ने चिन्ताबाट उनी मुक्त भएका छन्।
यस्तै वडा नं २ का वीरबहादुर घर्तीको पनि समस्या टेकबहादुरको भन्दा फरक थिएन। जंगलको बीचमा खरले छाएको घर भएकाले डढेलोबाट बच्न केही वर्ष अघिदेखि नै छानामा कर्कटपाता लगाउने उनको चाहना थियो। आर्थिक अवस्था कमजोर भएकाले मजदुरी गरी परिवार पाल्न बाध्य भएका उनले आफ्नो चाहना पूरा गर्न सकेका थिएनन्। उनको चाहना अहिले कालीमाटी गाउँपालिकाले पूरा गरिदिएको छ।
कालीमाटी गाउँपालिकाले २०७७ मा खरको छाना मुक्त अभियान थालेपछि यी दुई मात्र नभई २०८२ सम्म पाँच वर्षको अवधिमा पालिकाभित्रका सात वडाका १ हजार ७४ आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारका घर खरको छाना मुक्त भएका छन्। आगलागी लगायत अन्य किसिमका जोखिमबाट बचाउन पालिकाले थालेको अभियानअन्तर्गत पाँच वर्षको अवधिमा १ हजार ७४ विपन्न परिवारका घर खरको छाना मुक्त भएका हुन्।
खरको छाना मुक्तअन्तर्गत पालिकाले २०७७/०७८ मा १ सय २७, २०७८/०७९ मा १ सय ७६, २०७९/०८० मा ३ सय ९०, २०८०/०८१ मा २ सय २४ र २०८१/०८२ मा १ सय ५७ आर्थिक अवस्था कमजोर भएका विपन्नका घरमा कर्कटपाता लगाएको थियो। बर्सात र गर्मीको समयमा विभिन्न किसिमका समस्या भोग्दै आएका विपन्न परिवार खरको छाना फालेर कर्कटपाता लगाउन पाएपछि खुसी भएका छन्। अहिले उनीहरूले धेरै राहत महसुस गरेका छन्।
पालिकाले कर्कटपाता सहयोग गरेपछि पहिला झुपडीजस्तो घर अहिले चिटिक्क पारेको कालीमाटी गाउँपालिका–१ का चित्रबहादुर नेपालीले बताए। घरको छानामा कर्कटपाता लगाएपछि बर्सातको समयमा पानी चुहिने मात्र नभई रातभर भाँडामा पानी संकलन गर्दै बाहिर फाल्नुपर्ने र सुत्नका लागि ओबानो ठाउँ खोज्नुपर्ने बाध्यताको अन्त्य भएको उनले जानकारी गराए। उनका अनुसार प्रत्येक वर्ष घरको छाना छाउने खर जंगलबाट संकलन गर्नुपर्ने बाध्यता टरेको छ।
कालीमाटी गाउँपालिका–५ का वीरबहादुर नेपालीले टिनको छाना लगाएपछि घर वरपर सफा भएको बताए। ‘खरको छाना हुँदा मुसा लागेर हैरान पार्थ्यो। मुसाले खरका छानामा खोर बनाएर बस्दा अन्नपातसमेत नोक्सान पारी हैरान बनाउँथ्यो। आकाशबाट पानी परेमा त्यत्तिकै समस्या हुन्थ्यो, अहिले त्यस्तो छैन,’ उनले भने, ‘छानामा कर्कटपाता लगाएपछि बिस्कुन सुकाउन पनि सहज भएको छ।’
आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारले जंगलको बीचमा तथा भीरपाखामा घर बनाएका र कालीमाटी गाउँपालिका डढेलोको उच्च जोखिममा रहेकाले जंगल आसपासका बस्ती सबै सखाप हुने मात्र नभई मानवीय क्षति समेत हुने भएकाले जोखिम न्यूनीकरणका लागि प्रत्येक वर्ष ५० लाखदेखि तीन करोड रुपैयाँसम्म बजेट विनियोजन गरी खरको छाना मुक्त अभियान सुरु गरेर सबैका घरमा कर्कटपाता लगाउन थालिएको बताए। अभियानले विपन्न परिवारलाई धेरै राहत भएको जानकारी गराए।
उनका अनुसार पालिकाका झन्डै ५ हजार घरधुरीमध्ये २ हजार २ सय विपन्नका खरको छाना भएका छन्। प्रत्येक वर्ष २ सयदेखि ३ सय घरको छाना बदल्ने काम भइरहेको छ। अहिलेसम्म १ हजार ७४ घरमा कर्कटपाता फेरिसकिएको छ। बाँकी रहेका १ हजार १ सय परिवारका खरको घरका छाना बदल्ने कार्यक्रम निरन्तर भइरहेको छ।
