विद्यार्थीहरु कोचिङ पढ्नकै लागि धेरै खर्च गरेर सदरमुकाम खलंगामा पुग्नुपर्ने बाध्यता हटाउन नि:शुल्क कोचिङ पढाउने निर्णय गरिएकाे हाे ।
What you should know
जुम्ला — हिमा गाउँपालिकाले आगामी चैतमा एसईई दिने विद्यार्थीलाई हिउँदे बिदामा गाउँमै नि:शुल्क कोचिङ पढाउने व्यवस्था गरेको छ ।
विद्यार्थीहरु कोचिङ पढ्नकै लागि धेरै खर्च गरेर सदरमुकाम खलंगामा पुग्नुपर्ने बाध्यता हटाउन नि:शुल्क कोचिङ पढाउने निर्णय गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत बमबहादुर शाहले जानकारी दिए ।
उनका अनुसार मंसिर १ गते सबै विद्यालयका प्रधानाध्यापकहरु सम्मिलित गाउँ शिक्षा समितिको बैठकले गाउँमै कोचिङ पढाउने निर्णय गरेको हाे । बैठकले कालिका माध्यमिक विद्यालय बड्की, ज्योति माध्यमिक विद्यालय ओदी र राहदेव मावि मोफ्लामा केन्द्र कायम गरेर निशुल्क रुपमा कोचिङ पढाइने छ ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत शाहले विद्यालयहरुसँग सहजीकरण गरी चाँडै काेचिङ सञ्चालन गर्न निर्देशन भइसकेको बताए । गाउँ शिक्षा समितिले विद्यालयमा उपलब्ध शिक्षकबाट उत्कृष्ट विषय शिक्षक छनौट गर्ने अधिकार पनि माविहरुलाई दिएको छ ।
पालिकाले गाउँमै कोचिङको व्यवस्था गरेपछि अभिभावक पनि खुसी देखिएका छन् । उनीहरुलाई महंगोमा खलंगा पठाएर कोचिङ पढाउनुपर्नेदेखि लहलहैमा लागेर छोराछोरी बिग्रने अवस्थाबाट मुक्ति मिलेको छ । हिमा गाउँपालिकामा ६ वटा माध्यमिक विद्यालय छन् । एसईईका लागि पालिकाभरी दुई वटा केन्द्र तोकिएको छ ।
हिमा गाउँपालिकाका स्थानीय कृष्ण रोकायाले एसईई दिने विद्यार्थीलाई नि:शुल्क कोचिङ पढाउने पालिकाको निर्णय स्वागत योग्य भएको बताए । केही विद्यार्थी दसैंतिहार सकिए लगत्तै कोचिङ पढ्न टाढा गइसकेको उनले बताए । उनले भने, ‘गाउँमा जाडोयाममा विद्यालयमा नियमित पढाइ गर्न कठिन छ । उपयुक्त कक्षाकोठा र विषयगत शिक्षकको व्यवस्था गर्नुपर्ने देखिन्छ ।’
शिक्षा समितिका अध्यक्ष समेत रहेका गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले गुणस्तरीय शिक्षा प्रदान गर्ने विषयमा स्थानीय सरकार संवेदनशील रहेको बताए ।
