स्थानीयले निःशुल्क रूपमा जग्गा उपलब्ध गराएपछि प्रहरीले सुविधा सम्पन्न भवन बनाएर सेवा दिन थालेको हो।
What you should know
जुम्ला — स्थापना भएको १४ वर्षपछि प्रहरी चौकी गोठिज्युलाको आफ्नै भवन बनेको छ । स्थानीयले निःशुल्क रूपमा जग्गा उपलब्ध गराएपछि प्रहरीको आन्तरिक स्रोतबाट सुविधा सम्पन्न प्रहरी चौकीको भवन बनेको हो ।
प्रहरी नायब महानिरीक्षक माधवप्रसाद श्रेष्ठले बुधवार रिबन काटेर भवनको उद्घाटन गरे । प्रहरी नायब उपरीक्षक श्रेष्ठले निर्धक्क भएर जनताको जिउधनको सुरक्षामा लाग्न निर्देशन दिए ।
प्रहरी चौकी गोठिज्युला २०६८ सालमा स्थापना भएको थियो । '१४ वर्षसम्म प्रहरी चौकी भाडाको घरमा बस्यो,' जुम्ला प्रहरी प्रमुख डीएसपी रविनबाबु रेग्मीले भने, ‘अब आफ्नै पक्की भवनबाट सेवा सुरु भइसकेको छ ।’ कुल ४ करोड १० लाख ३६ हजार रुपैयाँको लागतमा प्रहरी चौकीको भवन निर्माण भएको हो ।
हिरासतसहितको तीन तले पक्की भवन बनाइएको छ । यहाँ गत साउन महिनादेखि नै प्रहरी सरेर नयाँ भवनबाट सेवा दिइरहेको थियो । औपचारिक रूपमा उद्घाटन भने बुधवार मात्र भएको प्रहरी कार्यालयले जनाएको छ ।
जुम्लामा १३ वटा स्थायी प्रहरी चौकी छन् । जसमध्ये प्रहरी चौकी गोठिज्युला, रारालिही र कुडारीमा आफ्नै भवनबाट सेवा दिइरहेको छन् । बाँकी १० वटा प्रहरी चौकी अझैपनि भाडाको घरबाटै चलिरहेका छन् । यो पटक इलाका प्रहरी कार्यालय नराकोट र जिल्ला प्रहरी कार्यालयमा भवन निर्माणको काम हुने डीएसपी रेग्मीले बताए ।
उनका अनुसार अस्थायी प्रहरी पोस्ट ६ वटा छन् । प्रहरी विट १ वटा जुम्ला विमानस्थल, कारागार, अस्पताल, सिडिओ कार्यालय र अदालत गरेर जिल्लाभर २९ वटा प्रहरी युनिट छन् । 'अहिलेसम्म बनेकामध्ये सबैभन्दा सुविधा सम्पन्न र गुणस्तरीय भवन प्रहरी चौकी गोठिज्युलाको बनेको छ,' डीएसपी रेग्मीले भने, ‘अब बन्ने सबै संरचना यही खाले बन्ने छन् ।’
नाग्म–गमगडी सडकमा यो चौकी पर्ने भएकोले भवन नहुँदा निकै सास्ती हुने गरेको थियो । अब पर्यटकहरूको सुरक्षादेखि सेवा प्रवाहमा सहज हुने प्रहरीले जनाएको छ । प्रहरी चौकीको भवन उद्घाटनका क्रममा निःशुल्क जग्गा प्रदान गर्ने स्थानीयलाई दोसल्ला र प्रमाणपत्रले सम्मान गरिएको थियो ।
