सल्यानमा शैक्षिक भ्रमणकाे जिप दुर्घटनामा १० जना घाइते

कुपिण्डे ताल जाँदै गरेको रा१ज ८७१ नम्बरको जिप शुक्रबार दिउँसो १ बजे आग्नेटा भन्ने ठाँउमा अनियन्त्रित भएर सडकमै पल्टिएको हो ।

मंसिर १२, २०८२

विप्लव महर्जन

10 injured in jeep accident on educational tour in Salyan

सल्यान — सल्यानको बन्गाड कुपिण्डे नगरपालिका–१२ को गोब्राही आधारभूत विद्यालय विरमखोलाको शिक्षक, विद्यार्थी र अभिभावक लिएर शैक्षिक भ्रमणमा हिँडेको जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

कुपिण्डे ताल जाँदै गरेको रा१ज ८७१ नम्बरको जिप शुक्रबार दिउँसो १ बजे तालनजिकै पर्ने आग्नेटा भन्ने ठाँउमा अनियन्त्रित भएर सडकमै पल्टिएको हो । 

जिल्ला प्रहरी सल्यानका प्रमुख डीएसपी हेमबहादुर केसीका अनुसार जिपमा २० जना सवार थिए । दुर्घटनामा घाइते भएका सबै शिक्षक, विद्यार्थी, अभिभावक हुन् । घाइते सबैलाई तत्काल उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल सल्यान ल्याइएको डीएसपी केसीले बताए ।

उनका अनुसार दुर्घटनामा घाइते भएका टोपेन्द्र केसीको अवस्था गम्भीर रहेको छ । जिपचालक कालीमाटी गाउँपालिका–३ फारुलाका २९ वर्षीय प्रकाश घर्तीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully